के छ एमालेको तयारी?

|

काठमाडौं : गएको प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचनमा विभिन्न व्यक्तिहरूले चुनाव चिह्न सूर्य लिएर स्वतन्त्र समूहबाट चुनाव लडे। यसमा राष्ट्रिय जनता पार्टीबाट बाहिरिएकालगायत विभिन्न पार्टीका नेताहरू थिए।

राजपाबाट अलग्गिएर स्वतन्त्र राजनीतिक समूहबाट प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेगरी नेकपा एमालेसँग समझदारी गरेका नेताहरूमध्ये केही नेताहरूले चुनाव जिते। एमाले र उनीहरूबीच एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि स्वतन्त्र हैसियत रहने समझदारी भएको थियो। 

यसरी एमालेको चुनाव चिह्न लिएर राजपाबाट असन्तुष्ट अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लले प्रतिस्पर्धा गरेका थिए।

यीमध्ये नवलपरासी (पश्चिम क्षेत्र)- १ बाट हृदयेश त्रिपाठी र कपिलवस्तु– २ बाट बृजेशकुमार गुप्ता विजयी भए। उता बाँके- २ बाट पशुपतिदयाल मिश्र र कपिलवस्तु– ३ बाट ईश्वरदयाल मिश्रले भने चुनाव जित्न सकेनन्। त्रिपाठी तत्कालीन नेपाल सद्भावना पार्टीबाट २०६४ सालको निर्वाचनमा नवलपरासी- ६ बाट विजयी भएका थिए। २०७० सालको चुनावमा भने उनी सोही क्षेत्रबाट पराजित भए।

तत्कालीन तराई-मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेतासमेत रहेका त्रिपाठी छवटा मधेसकेन्द्रित दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको सदस्य भएका थिए। दोस्रो चरणको स्थानीय तह निर्वाचन राजपाले बहिस्कार गर्ने रणनीति बनाएपछि असन्तुष्ट बनेका त्रिपाठीले केही कार्यकर्तासहित पार्टी परित्याग गरी स्वतन्त्र राजनीतिक समूह गठन गरेका हुन्। २०५६ सालपछिका निर्वाचनमा लगातार विजयी हुँदै आएका बृजेशकुमार गुप्ता कपिलवस्तु– २ बाट यस पटक विजयी भए।

उता, नयाँ शक्ति पार्टी नेपालकी नेता गंगा चौधरी, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललगायतका नेताहरू पनि सूर्य चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए। चौधरी र ढकाल समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चुनावी प्रतिस्पर्धामा थिए। यीमध्ये गंगा चौधरी समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य हुने लगभग पक्का भएको छ भने एकनाथ ढकाल भने समानुपातिक सूचीमा नपर्ने सम्भावना छ।

यसरी निर्वाचनबाट चुनाव जितेर आएका नेताहरूको व्यवस्थापन एमालेले कसरी गर्ला भन्ने चासो पनि रहेको छ। एमालेसँग एक कदम अगाडि बढिसकेकाले एमालेमा जानसक्ने स्वतन्त्र समूहका नेताहरूले बताइरहेका बेला एमाले कसरी अगाडि बढ्छ? त्यसको प्रतीक्षामा उनीहरू रहेका देखिन्छन्। निर्वाचनअघि गरिएको दुई बुँदे सहमति कार्यान्वयन नभएमा आफूहरू स्वतन्त्र रूपमा नै अगाडि बढ्ने नेता त्रिपाठी बताउँछन्। एमाले भने आफ्नो चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा चुनाव लडेका तथा विजयी भएकालाई एमालेमै ल्याउने प्रयत्नमा देखिन्छ।

एमालेको चुनाव चिह्न लिएर स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेका नेताहरू कानुनी रूपमा एमालेमै रहेको एमाले नेता तथा सांसद भानुभक्त ढकाल बताउँछन्। 'सूर्य चुनाव चिह्न लिएर चुनाव जित्नुभएका सांसदहरू कानुनी रूपमा एमालेमै हुनुहुन्छ', नेता ढकालले भने, 'उहाँहरूलाई संसद्‍मा एमालेको ह्विप लाग्छ।'

ती समूहका नेताहरूलाई एमालेमा ल्याउने भन्ने विषयमा पार्टीले आवश्यक गृहकार्य गर्ने ढकालको भनाइ छ। अहिले पनि त्रिपाठी र गुप्ता कानुनी हिसाबले एमालेकै संसदीय दलमा रहेको भन्दै ढकालले भने, 'उहाँहरू हाम्रै दलको सांसदमा गणना हुनुहुन्छ। उहाँहरूसँग भएको सहमतिअनुसार केही निणर्यहरूमा उहाँहरूले हाम्रै ह्विपअनुसार अघि बढ्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.