|

दमक (झापा) : केही वर्षअघिसम्म झापाको पूर्वोत्तर क्षेत्रमा हात्तीको हैरानी अधिक थियो। तर उक्त क्षेत्रमा भारतबाट आउने जंगली हात्तीका बथान रोक्न सीमा क्षेत्रमा सोलार फेन्सिङ जडान गरिएको छ। यसका कारण वर्षौंदेखि हात्तीको आक्रमण सहँदै आएका बाहुनडाँगी, काँकडभिट्टा, शान्तिनगर, बुधबारे, अर्जुनधारा, खुदुनाबारीलगायतका क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन्। तर जिल्लाको पश्चिमी क्षेत्रमा भने लगातार जंगली हात्तीले आक्रमण गर्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन्। 

जिल्लाको पश्चिमी क्षेत्र दमक, कमललगायतका क्षेत्रमा केही समययता लगातार जंगली हात्तीको बथान गाउँ छिरेर दुःख दिन थालेको छ। गत पुस २० गते जंगली हात्तीको बथानै गाउँ प्रवेश गरेर दमक– ३ मा क्षति पुर्‍याएको थियो। त्यसको केही दिन बित्न नपाउँदै नजिकैको कमल गाउँपालिका– ५ को सिम्लेमा पनि जंगली हात्तीले घर भत्काइदियो। गत बुधबार राती जंगली हात्तीले कारण घर भत्काइदिएपछि दुखद अवस्था भोगिरहेका कमल गाउँपालिका– ५ को सिम्लेका कृष्णप्रसाद राईले भने, ‘सरकारले यहाँ आउने जंगली हात्ती सधैँका लागि लखेटनुपर्‍यो, होइन भने हामीलाई सुरक्षित ठाउँमा लखेटोस्।’ 

पाँच छवटाको बथानमा आउने हात्तीले स्थानीयको घर भत्काउनुका साथै ढिकुटीको धान खाने साथै लगाएको बालीनाली पनि सखाप पार्ने गरेको सोही ठाउँका चुरुङ्हाङ लावती बताउँछन्। ‘एक दुईवटा आए पो भाग्नु, बथानै आएपछि ज्यान माया मारेर बस्नुको विकल्प छैन’, उनले भने, ‘यहाँ अन्नपात र घर मात्र होइन, ज्यानै जोगाउन गाह्रो भइसक्यो।’

एक साताअघि दमक– ३ मा पनि सातओटा हात्तीको बथान गाउँमा छिरेर ओमबहादुर बस्नेतको घर भत्काएको थियो। ‘हात्ती आयो भने उपाय केही हुँदैन’, वडाध्यक्ष नवीन बरालले भने, ‘राँको बाल्दा भाग्यो भने भाग्यो, नत्र हात्तीले जान्दो गरेर जाने गरेको छ।’ 

बस्ती नजिकै हंसेदुम्से सामुदायिक वन रहेकाले सोही जंगलमा हात्तीको बथान रहने गरेको स्थानीयको अनुमान छ। दिनहँु हात्ती गाउँ पसेर दुःख दिन थालेपछि घाँस दाउराका लागि जंगल जान पनि डरमर्दो भएको स्थानीयहरू बताउँछन्। स्थानीय गणेश चाम्लिङले भने, ‘आँखै अगाडि छिमेकीको घर भत्काइरहेको छ, यस्तो देखीदेखी कसरी जंगल पस्नु?’

कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी सानोतिनो बजेट र प्रयासले हात्तीको समस्या समाधान गर्न नसकिने बताउँछन्। यसका लागि केन्द्रीय सरकारबाटै कार्यक्रम र बजेट आउन आवश्यक रहेको उनको भनाइ छ। उनले भने, ‘सकेसम्म त हामी गर्छौं तर यसका लागि विज्ञहरूको पनि सहयोग र केन्द्रीय सरकारको स्रोत साधन नभए काम गर्न गाह्रो छ।’

राहत प्रदान
जंगली हात्तीले घर भत्काएपछि पीडित भएका झापाको कमल गाउँपालिका– ५ स्थित सिम्ले गाउँका कृष्णबहादुर राईको परिवारलाई नेपाली कांग्रेसले नगदसहित राहत सामग्री प्रदान गरेको छ। कांग्रेसको वडा समितिको सक्रियतामा पीडितको घरमै पुगेर कांग्रेस नगद आठ हजार ५०० रुपैयाँसहित विभिन्न राहत सामग्रीहरू प्रदान गरिएको पार्टीका लखनपुर गाउँ इकाई सभापति राजकुमार न्यौपानेले जानकारी दिए।

सातवटाको संख्यामा आएको हात्तीको एक समूहले राईको टिनको छानो भएको भुइँ घर भत्काएको थियो। हात्तीले उनको घरमा रहेको २५ मुरी धान, कोदो, मकै, लत्ताकपडाहरू सवै नष्ट गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.