|
दुर्घटनामा परि मृत्यु भएका गाउँपालिका अध्यक्ष कटवाल।

  • भविन कार्की-

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा आइतबार जिप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

मकालु गाउँपालिका– ३ को उवा नजिकै मिर्गेगौँडा सिम्माटार भन्ने ठाउँमा आइतबार अपराह्न १२ बजे जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालसहित पाँच जनाको मृत्यु भएको हो। 

उक्त दुर्घटनामा मृत्यु हुनेहरूमा जिल्ला समन्वय समितिका सूचना अधिकृत सुवासचन्द्र कुइँकेल, मकालु गाउँपालिका हेदागना घर भएका तथा नेकपा एमालेका जिल्ला कमिटी सदस्य सुरेश राई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारीहरू इन्जिनियर सुदीप ढकाल, अर्जुन बस्नेत र एक जना चालक रहेका संखुवासभाका प्रदेशसभा सदस्य पूर्णप्रसाद राईले बताए। 

मतदातालाई धन्यवाद ज्ञापन गर्न र बरुण मेला भर्न संखुवासभाका प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम र प्रदेशसभा ‘क’का सांसद पूर्णप्रसाद राईसमेत सो क्षेत्र गएका थिए। नुममा प्रदेशस्तरीय भलिबलको उद्घाटन कार्यक्रम सम्पन्न गरेर तीनवटा गाडीमा छुट्टाछुट्टै बरुण जाँदै गरेको गरेको सांसद राईले जानकारी दिए। 

साँघुरो सडक र पहाडी सडकमा अनुभव नभएका चालक भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। सडकको घुम्ती सानो र टर्निङ काट्नुपर्ने भएकाले दुर्घटना हुनसक्ने स्थानीयहरूले बताए।

जिप सडकदेखि ५०० मिटर तल खसेको छ। अहिलेसम्म पाँच जनाको मात्रै शव भेटिएको छ । उक्त गाडीमा छ जना सवार थिए। अहिलेसम्म गाउँपालिका अध्यक्ष खड्गबहादुर कटवाल र स्थानीय सुरेश राईको मात्रै पहिचान भएको छ, तीन जनाको शव पहिचान हुनसकेको छैन। एक जनाको शव खोजी कार्य भइरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। 

यो दुर्घटना जोगवनी–किमाथांका सडकखण्डमा भएको हो। यो नेपाल, चीनको तिब्बत र भारतको जोगवनीदेखि किमाथांका जोड्ने सबैभन्दा छोटो दूरीको राजमार्ग हो। भर्खरै मात्र ट्र्याक खुला भएको यस सडकखण्डमा गाडी गुड्न थालेको लामो समय भएको छैन। 

वर्सेनि माघ १ गते बरुण नदीमा नुहाउने र मेला भर्नेहरूको ठूलो भीड लाग्ने गर्छ। बरुण नदीमा नुहाउन छिमेकी जिल्ला भोजपुर, धनकुटा, पाँचथर, तेह्रथुमलगायतका पूर्वाञ्चलका धार्मिक भक्तजनको ठूलो भीड लाग्छ। बरुण नदीको पानी सबैभन्दा चोखो, कञ्चन र शुद्ध पानी रहेको मानिन्छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका केन्द्रीय कार्यालयका कर्मचारीहरू इन्जिनियर सुदीप ढकाल र समाजशास्त्री अर्जुन बस्नेत कार्यालयको गाडी बा५च १३०९ लिएर चालकसहित संखुवासभा आइपुगेका थिए। उनीहरू संखुवासभा जिल्लाका भूकम्पपीडितहरूको अवलोकन गर्नुका साथै तालिम दिनका लागि संखुवासभा आएको बताइएको छ। 

जिल्ला समन्वय समितिका सूचना अधिकृत सुवासचन्द्र कुइँकेललाई लिएर बरुण मेला पनि भर्ने र उत्तरी भोटखोला क्षेत्रका भूकम्पपीडितको अनुगमन पनि गर्नका लागि उनीहरू उक्त क्षेत्र गएका थिए। उनीहरू नुमको कार्यक्रम सकेर गाउँपालिका अध्यक्ष कटवाल र नेकपा एमालेका स्थानीय नेता सुरेश राईलाई समेत लिएर बरुण प्रस्थान गरेका थिए।

दुर्घटनास्थल सदरमुकाम खाँदबारीदेखि ७५ किलोमिटर टाढा पर्छ। खाँदबारी–नुम सहज बाटो भए पनि त्यहाँबाट उताको भर्खरै ट्र्याक खुला भएकाले सडकको अवस्था जोखिमपूर्ण रहेको छ।

मकालु गाउँपालिका– १ नुम स्थायी घर भएका खड्गबहादुर कटवाल गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। लामो समय शिक्षण पेसामा संलग्न रहेका कटवाल पेसाबाट अवकासपछि खुला राजनीतिमा आएका थिए। शिक्षणका साथै राजनीतिमा समेत कटवाल सक्रिय थिए। 

नेकपा एमालेका जिल्ला सदस्य रहेका कटवाल वाम गठबन्धनको तर्फबाट संयुक्त रूपमा उम्मेदवार बनेर विजयीसमेत भएका थिए। मिलनसार स्वभावका कटवाल गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आठ महिना मात्रै काम गर्ने अवसर पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.