|

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाको परीगाउँस्थित परशुराम धाममा माघे संक्रान्तिको अवसरमा आइतबार राति भव्य मेला लाग्दै छ। चार धाममध्येको एक धाम परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ। 

परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ। भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुराम धाम राखिन गएको पुराणमा उल्लेख गरिएको छ। 

पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन्। त्यसो गर्नाले धर्म कमाइने विश्वास छ।

माघ १ गते अर्थात सोमबार बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भीड लाग्छ। माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ।

मेला भर्न सुदूरपश्चिम अर्थात् प्रदेश नं.– ७ का विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाशकुमार पाण्डेले बताए। ‘माघे संक्रान्तीबाहेक औँशी, पूर्णिमा तथा ग्रहण लागेको समयमा पनि यस क्षेत्रबाट टाढाटाढाबाट दर्शनाथीहरू आउँछन्’, अध्यक्ष पाण्डेले भने।

एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ। 

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमिमा परशुरामले तपस्या सफल पारे। परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन्। मेलास्थलसम्म यातायातका साधनको पहुँच पुग्दा भक्तजनहरू यहाँ बढी केन्द्रित हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.