|

उदयपुर : बर्सेनि माघे संक्रान्तिदेखि लाग्ने पूर्वी नेपालकै पुरानो मैनी मेला सोमबारबाट सुरु भएको छ। उदयपुर र सिन्धुलीको सीमा क्षेत्रमा पर्ने कमला, ककरु र तावा खोलाको संगमस्थल खोक्सामा सुरु भएको हो। 

मैनी तथा त्रिवेणी मेला धार्मिक धेरै परिचित छ। त्रिवेणी घाटमा मकर नुवाई भाकल गरे,पशुपक्षीको वली दिई पूजा आराधना गरे चिताएको पुग्ने जनविश्वास रहिआएको छ। १ माघदेखि १५ गतेसम्म मकर नुवाई पूजाआजा गर्न हरेक वर्ष उदयपुरबाहेक ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, सिन्धुली, सिरहा, सप्तरी तथा भारतको विहारबाट समेत भक्तजन आउने गरेका छन्। 

माघ महिनाभरि लाग्ने मेला माओवादी द्वन्द्वले १५ दिन मात्र लाग्न थालेको हो। मैनी मेलाको आकर्षणमा उदयपुर, सिन्धुली र आसपासका जिल्लाहरूको स्थानीय उत्पादन, रोटेपिङ , मनोरञ्जनात्मक खेल तमासा, बुगीबुगी डान्स, मौतका कुवा, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति आयोजना गरिएको कटारी नगरपालिकाले जानकारी दिएको छ। 

धेरै वर्ष पहिले ओखलढुंगाको राडिपाखी, सोलुखुम्बुको भोटे घोडाको दौड प्रतियोगिता, खोटाङ्को भोटे कुकुर बेचेर तराईबाट नुन, चामल, लत्ताकपडा लगायतका दैनिक उपभोग्य सामाग्री पहाड लैजाने बजारका क्रममा मैनी मेलाको स्थापना भएको बुढापाकाहरुको भनाइ छ। यस वर्ष सिन्धुलीको दुधौली नगरपालिका र कटारी नगरपलिका क्षेत्रमा एकसाथ मेलाको आयोजना गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.