|

भक्तपुर :लिच्छविकालीन सम्यक दान पर्व भक्तपुरमा सोमबार धुमधामले मनाइँदै छ। हाम्व सँलु अर्थात् तिल संक्रान्ति (माघे संक्रान्ती)को अवसरमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्वीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले मनाइने एक मौलिक पर्व हो। विभिन्न स्वरूपका बुद्ध र बिहारका गुरु पुरोहितलाई आ-आफ्नो मनोकांक्षा पूरा हुने अपेक्षासहित सर्वसाधारणले गरिने दान नै सम्यक दान पर्व हो।

सम्यक दानका लागि बिहान सबेरै भक्तपुरको काठमाडौं प्रशन्नशील महाविहार, साकोथा चतुब्रह्‍म महाविहार, गोल्मढी मङ्गल धर्मदीप विहार, इटाछें जयकीर्ति महाविहार (थथुवहि) र भार्वाचो बौद्ध समकृत विहारको दीपंकर गरी पाँच दीपंकर बुद्धहरू एवं प्रशन्नशील महाविहारका क्वाचपालदेवता, सम्यक दान दाताको

कुलदेवता, थासंद्यो (सुवर्ण चैत्य), चार लुँद्यो (सुवर्ण दीपंकरहरु) तथा प्रशन्नशील महाविहारका स्थविर आजु, गुणकीर्तिमहाविहार (थिमी)का उपाध्यायगुरुजू एवं मुलपुरोहित गुरुजुहरूलाई भक्तपुरको इटाछेँमा रहेको जयकीर्ति महाविहार थथुवहीस्थित भुइँख्यल क्षेत्रमा जम्मा गरिन्छ।

सम्यक दानमा भूमिमा उब्‍जाउ हुने सबै प्रकारका अन्न, गेडागुडीहरूका साथै फलफूल र मिठाई दान गरिन्छ। साथै धान, चामल, लड्डु (रोटी र सख्खर मिलाई बनाएको विशेष प्रकारको लड्डु), पुरी र दक्षिणा दान गरिन्छ। त्यस्तै, सम्यक भोजनमा सहभागी गृहस्थ भिक्षुहरु बज्राचार्य र शाक्य वर्गहरुलाई धानचामल, लड्डु, पुरी र दक्षिणा दान दिइन्छ। यस पर्वमा दान गर्ने दाताले परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्देहरूलाई भोजन, अन्न र दक्षिणा दान गरी भव्‍य रूपमा मनाउँदै आएको छ। 

सम्यक दानपर्व भगवान गौतम बुद्धको पालादेखि चल्दै आएको विश्वास रहेता पनि ऐतिहासिक प्रमाणको रूपमा लिच्छविकालीन धार्मिक राजा वृषदेवको पालामा सुरु भएको हो। काठमाडौै‌ं उपत्यकामा सांस्कृतिक सम्यक दान पर्व नियमित र ऐच्छिक रूपमा चल्दै आएको छ। काठमाडौैमा प्रत्येक १२ वर्षमा एकपटक स्वयम्भूको भुइँख्यलमा र ललितपुरमा ५ वर्षमा एकपटक नागवहालमा सम्यक दान पर्व मनाइन्छ भने भक्तपुरमा प्रत्येक वर्ष माघे संक्रान्तिको दिन नियमित रूपमा यो सांस्कृतिक पर्व चल्दै आएको छ।

भक्तपुरमा सम्यक भोजन दान पर्व ने.सं.७८७ सालमा भक्तपुर चतुब्रह्‍म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नु भएको थियो। उनले सम्यक दान आयोजना गरिएको भक्तपुर इटाछेँस्थित थथुवही (जयकीर्ति महाविहार) त्यस समयमा जीर्ण भएकोले जयरत्नले जिर्णोद्वार गरेको इतिहासमा उल्लेख छ। जयरत्नले सम्यक दानपर्व नियमित रूपमा प्रत्येक वर्ष आयोजना गर्न करिब ३ सय ६० रोपनी जग्गाको आम्दानी व्‍यवस्था गरिएको थियो। जयरत्नपछि उनका छोराहरू जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्‍य रूपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपंकर स्थापना गरेका थिए। 

ने.सं.१०४४ सालमा भक्तपुर काठमाडौं विश्वकर्माछेँ टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपंकरहरु, सुवर्ण देवतासहित लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनी, नमोबुद्ध, जनवहाद्य, बनेपा, पनौती, श्रीखण्डपुरू, नाला, साँगा, थिमी आदि ठाउँमा रहेका दीपंकर तथागतहरू समेत उपस्थित भएको ऐतिहासिक तथ्य रहेको भक्तपुर सम्यक महादान व्यवस्थापन समितिका अध्यक्ष गणेश बज्राचार्यले बताए।

नियमित रूपमा सम्यक दानपर्वका लागि व्यवस्था गरिएको ३ सय ६० रोपनी जग्गामध्ये करिब २० रोपनी मात्र जग्गा बाँकी रहेको अध्यक्ष बज्राचायले जानकारी दिए। राणा प्रधानमन्त्री जंगबहादुरदेखि विभिन्न समयमा जग्गाहरू अधिकरण गरिएकोले सम्यक दान पर्व सञ्चालन हुने स्थान खुम्चँदै गएको समितिका सचिव अशोक बज्राचार्यले बताए। 

सम्यक दान पर्व सञ्चालन हुने भुइँख्य क्षेत्र अधिकरण गरी सरकारले भक्तपुर अस्पताल, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, जिल्ला हुलाक कार्यालय, सरकारी वकिलको कार्यालय स्थापना गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.