|

काठमाडौं : प्रकृति पूजक मगर समुदाय नेपालमा ठूलो संख्यामा बसोवास गर्दै आएका छन्। कला संस्कृति तथा चाड पर्वको विविधताले सम्पन्न मगर समुदाय ०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायमध्येको पहिलो ठूलो संख्या भएको जाति हो।

नेपालका प्रायः सबै जिल्लाहरूमा बसोवास गर्दै आएका मगरहरूले माघे सकराती भव्य रूपमा मनाउँदै आएका छन्। यो उनीहरूको प्रमुख चाड हो। मगर र थारू समुदायको परम्परागत चाड भए पनि माघे सकरातीलाई सम्पूर्ण नेपालीहरूले राष्ट्रव्यापीरूपमा धुमधामका साथ मनाउने गर्दछन्।

परम्परादेखि मनाउँदै आएको यो पर्व मगर समुदायको निम्ति भने ०६५ माघ एकमा सरकारले यसलाई राष्ट्रिय पर्व तथा मगर जातिको प्रमुख पर्वको मान्यता दिएपछि विशेष हर्षोल्लासका साथ मनाउन सुरु गरिएको हो। सरकारले आधिकारीक रूपमा माघे सकरातीलाई मगर थारू तथा सम्पूर्ण नेपालीको राष्ट्रिय पर्वको रूपमा घोषणा गरेपछि विगतदेखि धुमधामका साथ मनाउँदै आएका मगर तथा थारू समुदायमा हर्षको रक्तसञ्चार भएको छ।

यस्तो छ परम्परा

मगर समुदायमा यो पर्व खासगरी सकरातीको दिन मात्र मानाइए तापनि यसको एक हप्ता अगाडिदेखि नै टाढाका पवित्र स्थलहरूमा गएर मनाउने हो भने त्यसको तयारीमा जुटिरहेका हुन्छन्। सरसामानको किनबेच र व्यवस्थापन गर्दा गर्दै सकराती आइपुग्छ। यसको दुई तिन दिनसम्म पनि मगर घर सकरातीमय हुन्छ। त्यसैले तीन चार दिनदेखि एक हप्तासम्म पनि माघे सकराती मनाउने चलन रहेको पाइन्छ।

विभिन्न समाज, समुदाय र स्थान अनुसार यो चाडको मूल्य मान्यता र चाल चलनहरू फरक-फरक हुन सक्छ। यहाँ मगर समुदायमा मनाइने माघे सकरातीको अवसरमा गरिने विभिन्न चालचलन र संस्कारहरूको बारेका छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ।

मिश्रा बाँड्ने : माघे सकराती मगर समुदायका लागि छोरी, चेलीबेटीहरूको पर्व हो। त्यसैले यो चाड चेलिबेटिहरूको पुजा गरी मनाउने चलन रहेको छ। चेलीहरूलाई पुज्नका लागि जम्मा गरिएको चामल, फलफूल, तरुल, रोटी आदिलाई नै मिश्रा भनिन्छ। यसलाई ठाउँ, स्थान विशेषअनुसार निर्सो, मिश्रा आदि भन्ने चलन छ। जसलाई हामी खस भाषामा उपहार भनेर चिन्न सक्छौँ।

माघे सकराती वा माघ एक गतेको दिन बिहान सबेरै उठेर स्नान गरी बुवा दाजु या भाइले सबैको चेलिबेटीहरूलाई भेला गराएर मिश्रा चढाइ पुज्ने गर्दछन्। घरमा उपस्थित सम्पूर्ण दिदिबहिनीहरूको पूजा गरिसकेपछि फेरि विवाहित चेलीहरूको घर-घरमा पुगेर मिश्रा बाँड्ने चलन पनि रहेको छ। मिश्रा बाँड्ने क्रममा सकेसम्म दाजूभाई वा बुवा आफै चेलीको घरमा पुग्ने चलन रहेको छ। सबै चेलीहरूलाई पुजिनसक्दासम्म केही पनि खानेकुरा खानु हुँदैन भन्ने मान्यता छ।

सकरातीको दिन चेलीलाई विशेष सम्मान गरिन्छ। त्यस दिन चेलीलाई कुनैपनि काममा लगाउनुहुँदैन भन्ने मान्यता छ। उनको घरमा खानेकुराहरू केही पनि खानु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ। यदि कुनै चेलीको घर टाढा रहेको छ भने उनको मिश्रा अर्को दिन पुर्‍याइदिने चलन छ। मिश्रा बाँड्ने काम सकरातीको दिन बिहानभरी चल्ने गर्छ।

मस्यान्द्रा खेल्ने : गाँउघरमा रहेका सम्पूर्ण अविवाहित चेलीहरू बिहान उठेर खोला नदी दोभान वा धारामा नुहाएर घर फर्किसकेपछि बुवा आमा र दाईभाईले मिश्रा चढाएर पुज्ने काम हुन्छ। त्यसपछि गाँउटोलका साथीहरूसँग टोली बनाई घर-घरमा पुगेर मस्यान्द्रा माग्ने गर्दछन्। घरबेटीले प्रत्येक मस्यान्द्रा टोलीलाई सालको पातबाट बनेका टपरीमा एक टपरी चामल, गहुँ र फापरको रोटी सहित पाँच/दश रुपैयाँ दिने चलन रहेको छ। यसरी मस्यान्द्रा माग्दै घर-घरमा डुल्ने कामलाई नै 'मस्यान्द्रा खेल्ने' भनिन्छ। मागेको मस्यान्द्रालाई संकलन गरेर एक दिन विषेश गरेर चेलीहरूले घरदेखि बाहिर गएर संगीहरूसंग रमाइलो गर्दै खाने गरिन्छ।

झोम्पलेनी लगाउने : डाँठ निस्कनुभन्दा अगाडिको जौ को विरुवा जसमा पात मात्र हुन्छ। त्यसलाई नै झोम्पलेनी भनिन्छ। चेलीबेटीहरू खोलाबाट नुहाएर फर्किदा बाटोमा पर्ने बारीबाट जौं को विरुवा जरैदेखि उखेलेर ल्याउँछन् र मस्यान्द्रा खेल्ने क्रममा घरबेटीहरूलाई निधारमा अबिर र कानमा जमरा लगाए जसरी झोम्पलेनी लगाइदिएर पैसा माग्ने चलन रहेको छ। यसरी चेलीहरूले निधारमा अबिर र कानमा झोम्पलेनी लगाइदिएपछि घरबेटीले आफ्नो क्षमताअनुसार दान दक्षिणा दिने गर्नुपर्छ।

श्याम्भो गाउने : स्याम्भो गाउने माघे सकरातीको विशेष परम्परात हो। सकरातीको दिन साँझपख देखि बुढापाकाहरू जम्मा भई आफ्ना दुःख सुःखका कुराहरू एकप्रकारको लया भाकामा मिलाएर गाउने गीतलाई 'श्याम्भो गीत' भनिन्छ। यसरी श्याम्भो गीत गाउने बुढापाकाहरू पनि एकपछि अर्को साथीको घर पुगी खानपिनमा समावेश हुने र रमाइलो तथा ख्याल ठट्टा गर्ने गर्दछन्। यो संक्रान्ति पछि दुई/तीन दिनसम्म पनि चल्न सक्छ।

तारो हान्ने : सकरातीमा तारो हान्ने मगर समुदायको विशिष्ट प्रकारको संस्कार हो। सकरातीको दिनदेखि नै पुरुषहरू खुल्ला चौर वा बारीमा गएर तारो हान्ने चलन छ। जसले निशाना लगाउन सक्छ त्यसलाई फूलपाती लगाएर सम्मान तथा पुरस्कृत गर्ने चलन पनि छ। यसरी धनुषकाँडले निशाना लगाउने प्रतियोगितालाई नै तारो हान्ने भनिन्छ। यो कार्य पनि तीन/चार दिनसम्म चल्ने गर्दछ। उहिले तारो हानेर बिहे गर्ने चलन थियो। अहिले त्यो परम्परा भने हराइसकेको छ।

पितृको सम्मान : आदिवासी समुदायमा पितृ पुज्ने, प्रकृति पुज्ने चलनलाई विशेष मानिन्छ। त्यसैगरी मगर समुदायमा पनि मातापित्रको पूजाआजा, उनीहरूलाई सम्झिने गरिन्छ। सकरातीको अवसरमा पनि मृत्यु भएका परिवारजनको अस्तु बगाउने, जलाउने र दान दक्षिणा गर्ने चलन पनि मगर समुदायमा रहेको छ। मृत्यु भएका परिवारजनको कुनै सामान वा लत्ताकपडा लिएर रिडी नदीमा पुगी बगाइदिने तथा गाडिएको ठाँउबाट हड्डी उत्खनन् गरी त्रिवेणी दोभान वा नदीनालामा लगी जलाइदिने गरिन्छ।

आफ्नो क्षमताअनुसार चेलीबेटीलाई दान दक्षिणा दिई मृत व्यक्तिको आत्मालाई स्वर्गमा चढाइदिने परम्परा छ। यस्तो गरेमा मृत आत्माले पुण्य प्राप्त गर्दछ भन्ने परम्परागत मान्यता विश्वास रहेको छ। यो काम सकरातीकै दिनमा गरिन्छ। यस बाहेक मगर समुदायले माघे सकरातीको दिन रैँया फोर्ने, पुल्ली जलाउने, रंग, अबिर वा मसी दलेर रमाइलो गर्ने चलन पनि छ।

माघे सकरातीको आफ्नै छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। यो मगर समुदायमा सामाजिक रूपले लैङ्गिक विभेदलाई निरुत्साहित गरी समानताको प्रतिक एवं धार्मिक दृष्टिकोणले दान, दक्षिणा गरी पुण्य प्राप्ती तथा सेवा, सद्भावको महत्व बोकेको पर्व हो। त्यसो भएको हुँदा देशभित्र या बाहिर जताततै निकै हर्षोल्लाषका साथ मनाइने यो पर्वको स्थानीय तथा राष्ट्रियस्तरमा संरक्षण तथा व्यवस्थापन जरुरी छ।

अहिले यी परम्पराहरू प्रायजसो लोप हुने अवस्थामा छन्। विभिन्न ठाउँमा बसाइसराइ गर्ने क्रममा ती संस्कारहरू पनि हराउने अवस्थामा छन्। नेपाल मगर संघले संस्थागत रूपमा यस्ता चाडपर्वहरूलाई मनाउँदै आएको छ। तर, हामीले हाम्रो घरभित्रै यस्ता कुरालाई संरक्षण दिन सकेनौं भने यो हराएर जाने सम्भावना रहन्छ।

जेदो । झोर्ले ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.