'प्रदेश प्रमुख आजै तोकियोस्, नतोकेपनि राष्ट्रियसभा निर्वाचन हुन्छ'

|

मोरङ : निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले तत्काल प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरेका छन्।

विराटनगरमा आइतबार आयोजित क्षेत्रीय निर्वाचन कार्यालयको भवन उद्घाटन कार्यक्रममा यादवले तत्काल प्रदेश प्रमुख तोक्न सरकारसँग आग्रह गरेका छन्। ‘राष्ट्रिय सभाको निर्वाचनका लागि ७ गतेभित्रमा नामावली प्रकाशित गर्नुपर्नेछ’, आयुक्त यादवले भने, ‘प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखको नामावली हस्तान्तरण गर्नका लागि पनि प्रदेश प्रमुख आवश्यक छ, भोलि नपर्खनुहोस्, आजै नै प्रदेश प्रमुख नियुक्ति गरियोस्।’

निर्वाचन आयोगले माघ २४ गते जसरी भएपनि राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने जानकारी दिँदै यादवले निर्वाचन मण्डलको वैधानिकता प्राप्त गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे। ‘निर्वाचन आयोग जहिल्यै १ कदम अगाडि छ,’ यादवले दल र सरकारले ढिलो गरेको दक्षित गर्दै भने, ‘७ गतेसम्ममा सरकारले प्रदेश प्रमुख नतोके पनि २४ गतेसम्ममा राष्ट्रियसभाको निर्वाचन हामी गर्छौं।’

आयोग कसैको पक्षमा लागेको छैन

निर्वाचन आयोगले समानुपातिक मत परिणाम घोषणा गर्न ढिलो गरेको आलोचना भइरहेका बेला आयुक्त यादवले आयोग कसैको पक्षमा नलागेको स्पष्ट पारे। ‘कसैको पक्षमा लागेर ढिलो या छिटो गर्ने होइन, कानुन अनुसार हामीले काम गर्ने हो,’ आयुक्त यादवले भने, ‘कानुनको आशय बुझेर काम गर्नुपर्छ भनेर हुँदैन, कानुन समयमा बनाएर नदिएको कारण ढिलाइ भएको हो।’

निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने यादवले बताए। ‘निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्छ,’ यादवले थपे, ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोग बलियो बनाउनु आवश्यक छ।’

विराटनगरमा १ करोड ४४ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ लागतमा आयोगको क्षेत्रीय कार्यालयको भवनको आयुक्त यादवले उद्घाटन गरेका छन्। कार्यक्रममा बोल्दै यादवले निर्माण भएको भवनको रेखदेख र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.