भृकुटीमण्डपमा माघे सकरातीको रौनक

|
तस्विर सौजन्य : उपराष्ट्रपतिको सचिवालय ।

काठमाडौं : मगर समुदायले माघे सकराती पर्व धुमधामका साथ मनाएका छन्। चेलीबेटी पुज्ने पर्वका रूपमा मगर जातिले सोमबार देशैभर सकराती पर्व मनाएका हुन्।

काठमाडौंमा बसोवास गर्दै आएका मगर समुदायले भृकुटीमण्डपमा भेला भएर माघे सकराती मनाएका छन्। नेपाल मगर संघले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनमगर प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

त्यस अवसरमा माघे सकरातीको मुख्य परम्परा तारो (धनुषवाण) हानेर उपराष्ट्रपति पुनले कार्यक्रमको उद्घाटन गरेका थिए। उपराष्ट्रपति नन्दबहादुर पुन मगरले अबको मुख्य ध्यान भनेको मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताए।

संविधानको पूर्ण कार्यान्वयनपछि मुलुक आर्थिक विकासमा लाग्नुपर्ने भन्दै मुलुक समृद्ध हुन प्रत्येक नागरिक समृद्ध हुनुपर्ने बताए। स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा रहेका असमझदारी, असन्तुष्टिलाई राजनीतिक दलहरूले हटाउनतिर लाग्नुपर्ने बताए। 'दलहरू चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्, यसमा मलाई विश्वास छ', उनले भने, 'समय र सन्दर्भ ख्याल राख्नेछन् भन्ने पनि पूर्ण विश्वास छ।'

हिजो राजनीतिक संघर्षमा एकताबद्ध भएर लागेका दलहरू अहिले समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको उनले उल्लेख गरे। नेपालका आदिवासी जनजातिहरू आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर संघर्षमा रहेको उनले बताए। उनले भने, 'सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुनसक्छ।'

हाम्रो देश नेपाल प्राकृतिक रूपमा विश्वकै सुन्दर देश रहेको भन्दै उपराष्ट्रपति पुनले विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृतिका समुदायको सम्मिश्रित बसोवासले नेपाललाई झनै सुन्दर बनाएको बताए। 'सुन्दर प्रकृति र माघे सकरातीलगायत हाम्रा साझा मौलिक संस्कृतिको समायोजनबाट नेपाल प्रकृति र संस्कृतिको विश्वकै धनी देश बनेको छ। यो हाम्रा लागि निकै नै गौरवको कुरा हो', उनले भने।

उपराष्ट्रपति पुनले मगर समुदायको इतिहास निकै गौरवपूर्ण रहेको भन्दै आधुनिक नेपाल राष्ट्रको निर्माण तथा अन्य विभिन्न संघर्षमा मगर समुदायले अग्रभागमा वीरतापूर्वक लडेको बताए। कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले काठमाडौंमा रहँदै आएका मगर समुदायका लागि आफ्नो सांस्कृतिक मुख्य चाड मनाउनका लागि संघले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको बताए।

त्यस अवसरमा मगर समुदायका प्रचलित पैस्यारु, भूमे, हुर्रा, कौरालगायतका नृत्यहरू प्रस्तुत गरिएको थियो। परम्परादेखि मनाउँदै आएको यो पर्व मगर समुदायको निम्ति भने ०६५ माघ १ मा सरकारले राष्ट्रिय पर्व तथा मगर जातिको प्रमुख पर्वको मान्यता दिएपछि विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ।

हेर्नुहोस् फोटा :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.