|

रसुवा : माघे संक्रान्तिको अवसरमा सोमबार रसुवा र नुवाकोटका विभिन्न स्थानमा ४० हल गोरु जुधाइएको छ। हरेक वर्ष माघ १ गते संचालन हुँदै आएको गोरु जुधाइ मेलामा यस वर्ष पनि रसुवाको बेत्रावती, नुवाकोटका तारुका र पञ्चकन्यामा गरी ४० हल गोरु जुधाइएको हो। 

रसुवा र नुवाकोटको सीमा बेत्रावतीमा १० हल, नुवाकोटको तारुकामा २० हल र पञ्चकन्यामा १० हल गरी ४० हल गोरु जुधाइएको आयोजकहरूले जनाएका छन्। बेत्रावतीमा गोसाइँकुण्ड युवा क्लब,  तारुकामा माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्था र पञ्चकन्यामा नवप्रतिभा युवा समूहले गोरु जुधाइ कार्यक्रम संचालन गरेका हुन्। 

नेपाल र तिब्बतबीच वि. सं. १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा मनाइने गोरु जुधाइले ग्रामीण पर्यटन प्रबद्र्घन गर्न सहयोग पुग्ने गरेको छ। १८४९ सालदेखि रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा गोरु जुधाइ मेला हुँदै आएको भए पनि गोसाइँकुण्ड युवा क्लबले २०५३ सालदेखि व्यवस्थित रूपमा बेत्रावतीमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेको बताइएको छ। 

त्यस्तै, २०६९ सालदेखि नुवाकोटको पञ्चकन्यामा पनि विभिन्न संस्था तथा क्लबले व्यवस्थित रूपमा गोरु जुधाइ गर्दै आएका छन्। 

वि. सं. १८८७ देखि नुवाकोटको तारुकामा सुरु भएको गोरु जुधाइलार्ई २०६२ सालदेखि स्थानीय युवाहरूले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रबद्र्धनमा केन्द्रित रहेर व्यवस्थित रूपमा गर्न थालेको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले बताएको छ। बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा मनोरंजन दिन गोरु जुधाइएको सम्झनामा नुवाकोटको तारुकामा गोरु जुधाइ मेला सुरु गरिएको इतिहास छ। 

गोरु जुधाइ हेर्न रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लाका सयौँ मानिसहरू रसुवाको बेत्रावती र नुवाकोटको तारुका आएका आयोजक संस्थाहरूको भनाइ छ। 

माघे संक्रान्ति पर्वको अवसरमा गोरु जुधाइलाई नेपाली मूलको ‘बुल फाइट’को रूपमा समेत लिने गरिएको छ। 

दैनिक ८ घण्टा बन्द हुँदै आएको गल्छी–देवीघाट सडकखण्ड सोमबार गोरु जुधाइ मेलालाई लक्षित गरी खुला गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.