कप्तान कीर्तन र उपकप्तान विक्रमद्वारा सन्यास घोषणा

|

नेपालले दृष्टिविहिन एकदिवसीय विश्वकप क्रिकेटमा आफ्नो अन्तिम खेलमा अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त गरेको छ। सोमबार पाकिस्तानको अजमानमा भएको लिगको अन्तिम खेलमा नेपालले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्यो। नेपालको लगातार चार हारपछिको जित हो।

टस जितेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले २ सय ९७ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले २२ बल अगावै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। अन्तिम खेलमा नेपालले बलिङ र ब्याटिङ दुवै उत्कृष्ट प्रदर्शन गर्यो। नेपाललाई जित दिलाउन पदम बडेलाले  शतकीय पारी खेले। पदमले १२५ रनको अविजित पारी खेल्दै नेपाललाई जित दिलाए। उनले ७६ बलमा १४ चौका प्रहार गरे। उनलाई बद्री चौलागाईले ३५ रनमा अविजित साथ दिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया ३६.२ ओभरमा २९६ रनमा अलआउट भयो। नेपालका लागि दुर्गादत्त पौडेलको बलिङ अष्ट्रेलियाको पारीमा घातक साबित भयो। अष्ट्रेलियाको लागि स्टेफन नेरोले ६३ रन र म्याट क्यामरुनले ६२ रनको योगदान दिनुबाहेक अन्यको प्रदर्शन गतिलो रहेन्। १० ओभरमा ९२ रन हुँदा पहिलो विकेट गुमाएको अष्ट्रेलियन पारीलाई नेपाली फिल्डरले ५ खेलाडीलाई रनआउट गराउन सफल भएका थिए । नेपालका लागि दुर्गादत्तले ३ विकेट लिँदा विक्रमबहादुर र भरत थापाले समान १–१ विकेट हात पारे। नेपालको जितमा शतकीय पारी खेलेका पदम बडेला म्यान अफ दी म्याच घोषित भए। उनले नगद ५ सय दिराम र ट्रफी हात पारे।  

कप्तान कीर्तन र उपकप्तान विक्रमद्वारा सन्यास घोषणा

विश्वकपको अन्तिम खेलमा अष्ट्रेलियामाथि जित निकालेपछि नेपाली टिमका कप्तान कीर्तन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानाले सन्यासको घोषणा गरेका छन्।

उनीहरुले संघका अध्यक्ष पवन घिमिरे र प्रशिक्षक रिजन प्रजुको रोहबरमा सन्यासको घोषणा गरेका हुन्। नेपालमा नेत्रहीन क्रिकेट सुरु हुँदा नै नेपाली टोलीमा रहेका विक्रम र कीर्तनले नयाँ युवा खेलाडीलाई अवसर दिन आफूहरुले सन्यास लिएको बताए। २०६३ सालमा नेपालमा नेत्रहीन क्रिकेट सुरु हुँदा खेल्न सुरु गरेका विक्रमले दुई टी–२० विश्वकप क्रिकेट र यो एकदिवसीय विश्वकपमा खेलेका छन् । कीर्तनले एक टी–२० विश्वकप र यो एकदिवसीय विश्वकप क्रिकेट खेलेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.