|
तस्विर : अन्नपूर्ण पोस्ट

ब्रुसवाङ : ‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ। सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ।’

चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाललगायतको टोलीसमक्ष फूलमायाले दुखेसो पोखिन्। गाउँ आएको सरकारी टोलीसमक्ष फूलमायाले दुखेसो सुनाउँदा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली गम्भीर भयो। फूलमायाले थपिन्, ‘बिरामी भएर पानी बोक्न नसक्दा ११ दिनसम्म मुखमा पानी परेन। छिमेकीलाई पैंचो तिर्छु भनेर पानी ल्याउन भनेँ। निको भएपछि पेप्सीको बोतलमा पानी ल्याएर पैंचो तिरेँ।’ यो पीडा फूलमायाको मात्र होइन, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ को विकट बस्ती ब्रुसवाङका चेपाङ समुदायका ३६ घरको हो।

गाउँको अवस्था अवलोकन गरेपछि प्रजिअ नेतृत्वको सरकारी टोली चेपाङ बस्ती सार्न उपयुक्त हुने निष्कर्षमा पुगेको छ। सरकारी टोलीसँगै ब्रुसवाङ आएका गाउँपालिका प्रमुख हरि डल्लाकोटीले भने, ‘खानेपानी ल्याउने विषयमा धेरैपटक कुरा भए। योजना खर्चिलो एवंम् दिगो व्यवस्थापनमा समस्या आउने देखिएपछि बस्ती स्थानान्तरणको तयारी भइरहेको छ।’ प्रमुख जिल्ला अधिकारी भण्डारीले खर्चिलो खानेपानी योजना सञ्चालन गर्नुभन्दा बस्ती स्थानान्तरण योजना नै उचित हुने सुझाए। उनले भने, ‘अहिले जनता आवास कार्यक्रम चलिरहेको छ। चेपाङ बस्ती नयाँ ठाउँमा सारेपछि यस पटक ३६ घर बनाउने योजनामा छलफल भइरहेको छ।’

गाउँमा पूर्वाधार निर्माणभन्दा बस्ती सार्नै कम आर्थिक भार पर्ने भएकाले बस्ती सार्ने योजना बनाइएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले पनि सुनाए। गाउँ आएको प्रजिअसहितको टोलीसमक्ष ब्रुरुसवाङका चेपाङले पानी खान नपाउँदाका तीता अनुभव मन खोलेर सुनाएका थिए।

७०\७५ माथिका वृद्धवृद्धा र ६ महिनाकी सुत्केरीले धित मरुन्जेल पानी खान नपाएको गुनासो गरिरहँदा प्रजिअले सोधे, ‘सरसफाइ र गाईवस्तुलाई पानी कसरी खुवाउनुहुन्छ ? ’ चेपाङका मुखिया टेकबहादुरले प्रजिअको जिज्ञासामा भने, ‘तिर्खा लाग्दा पेटभरि पानी खान पाइन्न, कसरी खुवाउने गाईवस्तुलाई, केले गर्ने सरसफाइ ? ’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.