|

काठमाडौं : गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति\उपराष्ट्रपति, सभामुखरउपसभामुखको चर्चा चुलिँदै गएको छ। निर्वाचनमा ६०\४० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति\उपराष्ट्रपति, सभामुख\उपसभामुख वाम गठबन्धनबाटै हुने देखिएको छ।

वाम गठबन्धनबाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकांक्षीले आन्तरिक गृहकार्य मजबुद बनाएका छन्। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन्। स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक 'लबिङ' तीव्र पारेका छन्।

राष्ट्रपति भण्डारीले केही दिनअघि मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका लागि डिनर पार्टी आयोजना गरेकी थिइन्। एमाले र माओवादी केन्द्र पार्टी एकताको क्रममा रहेको र दाहाल एकतापछिको पार्टी अध्यक्ष हुने सम्भावना रहेको अवस्थामा भएको डिनर पार्टीलाई कतिपयले राष्ट्रपतिको पुनः दोहोरिने इच्छास्वरूप दाहालसँग नजिकिने योजनाका रूपमा चित्रण गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्‍याउने पक्षमा सकारात्मक देखिएका छन्। तर, दुई पार्टीबीच पार्टी एकताका क्रममा नेताहरूको व्यवस्थान गर्ने क्रममा नयाँ राष्ट्रपति\उपराष्ट्रपतिका साथै सभामुख\उपसभामुख परिवर्तन हुने सम्भावना बढी छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनालले राष्ट्रपतिका लागि इच्छा देखाएका छन्। खनालले राष्ट्रपतिका लागि चासो राख्दै गृहकार्य अगाडि बढाएका छन्। पार्टी एकतापूर्व भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति हुनेगरी गृहकार्य भएको थियो। पछिल्लो समय नेता नेपाल राष्ट्रपति भन्दा पार्टीमा सक्रिय राजनीति गर्ने पक्षमा रहेको उनी निकटका नेताहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.