|

काठमाडौं : राज्य व्यवस्थालाई भत्काउन, ध्वंसात्मक युद्ध गर्दै बन्दुक उठाउने विद्रोही नेता र राज्य व्यवस्थालाई सुव्यवस्थित गर्नुपर्छ भन्दै शान्ति सम्झौता र संविधान निर्माणका लागि कलम उठाउने नेता पुष्पकमल दाहालको संक्षिप्त परिचय हो। विभिन्न राजनीतिक परिवर्तन र घटनाक्रममा दाहालको भूमिका महत्त्वपूर्ण हुने गरेको छ। वर्तमान राजनीति, वाम गठबन्धनको भविष्य र सरकार गठनका विषयमा दाहालसँग गरिएको कुराकानी–

तपाईंको विषयमा कतिपय स्वतन्त्र राजनीतिक विश्लेषकले गतिशील नेता त कतिपयले अस्थिर भन्दै फरक–फरक तवरले विश्लेषण गर्ने गरेका छन्। प्रचण्डको खास परिचयचाहिँ के हो?

गतिशीलता र अस्थिरताबारे मानिसले आ–आफ्नै ढंगले विश्लेषण गर्ने गरेका छन्। नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ। संविधान निर्माण भएर कार्यान्वयनको चरणमा छ। यो नेपाली राजनीतिको गतिशीलताको परिणाम हो। गतिशीलता र अस्थिरताको कुरा गर्दा जीवनले मानिसको सोच्ने तरिका निर्माण गर्छ र परिस्थितिले उसको सोचलाई प्रभावित पार्छ।

आफू एउटा मान्यतामा अडिएर बस्यो भने विरोधीले चाल्ने प्रत्येक कदमलाई काउण्टर दिन सजिलो हुन्छ। युद्धको आवश्यकता, नीति, कार्यक्रममा परिवर्तन गर्नुपर्ने बाध्यताले मलाई बढी गतिशील बनायो भन्ने मेरो बुझाइ छ। तर, मैले रणनीतिक रूपमा राष्ट्र र जनताको हितभन्दा बाहिर गएर काम गरेको छैन। 

डेढ महिनाअघि देशमा निर्वाचन भएको थियो। निर्वाचन सम्पन्न भएर परिणाम आएको लामो समयसम्म पनि नयाँ सरकार गठन हुन सकेको छैन। यहाँहरूले बनाएको संविधानको कमीमजोरीका कारण यसो भएको हो कि, प्रधानमन्त्री देउवाको नियत हो अथवा नेपालको राजनीतिको नियति?

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको पहिलो संविधानसभा निर्वाचन र सरकार गठनमा पनि यस्तै ढिलाइ भएको थियो। त्यतिवेला चार महिनापछि मात्रै सरकार गठन हुन सक्यो। प्रत्यक्ष निर्वाचनमा हामी बहुमतमा थियौँ र समग्रमा दुईतिहाइभन्दा बढीको समर्थनसहित मैले प्रधानमन्त्री पद सम्हालेको थिएँ।

अहिले तत्काल सरकार गठन गर्नुपर्नेमा विभिन्न तर्क आइरहेका छन्, कांग्रेस सरकारमा छ र अलमलिरहेको छ। यो बिलकुल राम्रो भएको छैन। तर, राष्ट्रियसभा निर्वाचनको समय तोकिसकेको हुँदा धेरै ढिला नहोला भन्ने लाग्छ। अब तत्काल कांग्रेसले सत्ता हस्तान्तरण गर्नु उसको हितमा छ। कांग्रेसको निर्वाचनमा राम्रो परिणाम आएको छैन, अहिलेको उसको व्यवहारले बाँकी साख पनि बिग्रन्छ कि भन्ने मलाई चिन्ता छ। कांग्रेसले यो कुरालाई पक्कै विचार गर्नेछ। सरकार त बन्छ नै।

समृद्धिको कुरा गर्नासाथ चीन र भारतको भूमिका र लगानीको विषयमा प्रश्न उठाइन्छ। संसदीय निर्वाचनका वेलामा समेत अन्तर्राष्ट्रिय मिडियामा ‘नेपालमा चुनाव, भारत र चीनको प्रतिस्पर्धा’ भन्ने समाचार आए। आगामी सरकार निर्माणमा नेपालको विषयमा सधैँ जोडिने चीन वा भारतको भूमिका रहन्छ त?

पक्कै छ। किनभने जोडिनु स्वाभाविक पनि हो। हामी चीन र भारतको बीचमा भूपरिवेष्टित अवस्थामा छौँ। त्यसकारण चीन र भारतको विकास, त्यहाँको राजनीतिक अवस्थाका बारेमा नेपालको सम्बन्ध जहिले पनि रहन्छ। जबसम्म नेपाल, भारत र चीन भन्ने देश यही रूपमा रहिरहन्छन्, तबसम्म हाम्रो सम्बन्ध विशिष्ट अवस्थाको रहिरहन्छ। सुगौली सन्धिदेखि लामो समयसम्म जुन खालको सम्बन्धको स्थिति बन्यो नेपालका राजामहाराजा र विदेशी शक्ति केन्द्रले नेपाल फुटाऊ र शासन गर भन्ने मान्यताअनुसार नै नेपालको राज्यमाथि आफ्नो कुनै न कुनै खालको प्रभाव, प्रभुत्व राखिराख्ने प्रयास गरे। कसैलाई ‘प्रो–इण्डियन’ बनाउने त कसैलाई ‘प्रो–चाइनिज’ बनाउने काम भयो।

तथाकथित राष्ट्रवादीको नाममा नेपाललाई राजनीतिक कलहको केन्द्र बनाइरराख्ने अवस्था रह्यो। अहिले मैले जोड दिएर हामीले त्यो सोच बदल्नुपर्छ भन्दै आएको छु। अब हामी न ‘प्रो–इण्डियन’ न ‘प्रो–चाइनिज’, केवल ‘प्रो–नेपाली’ हौँ। नेपाल र नेपालीको हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीको सकारात्मक कामबाट लाभान्वित हुने दिशातर्फ नेपाल अघि बढ्नुपर्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.