|

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी केही कम गरेको छ। सोमबार भएको खेलमा युनाइटेडले स्टोक सिटीलाई ३–० ले पराजित गर्दै सिटीसँगको अंक दुरी १२ अंकमा झारेको हो।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा फ्रान्सका डिफेन्डरद्वय एन्टोनियो भ्यालेन्सिया र एन्थोनी मार्सेलले पहिलो हाफमा १–१ गोल गर्दा अर्को एक गोल स्ट्राइकर रोमेलु लुकाकुले दोस्रो हाफमा गरे । 

खेलको नवौं मिनेटमा स्ट्राइकर पउल पोग्बाको सुन्दर पासलाई सदुपयोग गर्दै भ्यालेन्सियाले गरेको प्रहारले पोष्टको दिशा लिएको थियो। पहिलो हाफको ३८ औं मिनेटमा पोग्बाले नै सिर्जना गरेको अवसरलाई सदुपयोग गर्दै गोलपोस्टको करिब २० यार्ड नजिकबाट मार्सेलले टोलीका लागि अर्को गोल थपे।
पहिलो हाफ अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेको युनाइटेडले दोस्रो हाफ पनि सोही लयलाई निरन्तरता दियो। खेलको ७२औँ मिनेटमा लुकाकुले अर्को गोल थपेपछि युनाइटेड ३–० ले विजयी भयो।

खेलका दौरानमा गोल गर्ने केही सुन्दर अवसर स्टोकका खेलाडीले खेर फाले । यद्धपि, सिटीका गोलकिपर ज्याक बटल्यान्डले म्यान्युका केही उत्कृष्ट प्रहार बचाएका थिए। योसँगै सिजनमा स्टोक सिटीले सातौँ पटक ३ वा सोभन्दा बढी गोलअन्तरले विपक्षी टोलीलाई खेल सुम्पेको छ।

प्रतियोगितामा युनाइटेड २३ खेलबाट ५० अंकका साथ दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ अंक रहेको छ। त्यस्तै, लिभरपुल र चेल्सीको समान ४७ अंक भएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.