|

लहान : केही समयदेखि शीतलहरका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। अत्याधिक चिसो बढ्दा वृद्धबृद्धा, बालबालिका र सुत्केरी महिला प्रत्यक्ष मारमा परेका छन्।

शीतलहर सुरु भएपछि सिरहाका दलित समुदाय कष्टकर जीवन बिताइरहेका छन्। उमेरले ६६ वसन्त पार गरेका सिरहा धनगढीमाई नगरपालिका ९ मुसर्नियाका सोनाई सदायको दम्पती प्रतिनिधि पात्र हुन्। भएको एउटा सन्तान पनि भारत भासिएको वर्षै बितिसक्यो, अहिलेसम्म फर्किएका छैनन्. बढ्दो चिसोमा न त उनीहरूलाई साहारा दिने सन्तान नै घरमा छन्, न त न्यानो दिने घर नै। परालको झुपडीमा दैनिकी गुजारिरहेका उनीहरू आगो तापेर रात गुजारिरहेका छन्। 

झुपडीले थेगेन जाडो

सम्पतिको नाममा सिधा उभिएर पस्न र निस्कनसमेत नमिल्ने पराको झुपडी छ। न त उनीहरू काम गर्नसक्ने अवस्थामा छन् न कमाएर खुवाउने नै कोही छ। ‘एउटा भएको सन्तान पनि कमाउन विदेश गएको फर्किएन, अरू छोराछोरी छैनन्, खान र न्यानो नपाएरै मर्ने भइयो’ सोनाई गुनासो गर्छन्। जाडो थेग्ने गरी लत्ताकपडा नभएपछि वृद्धा दम्पती आगो तापेरै चिसो रात कटाइरहेका छन्।

काम गर्न नसक्ने भएपछि कसैले केही देलान र खाउँला भन्ने आसमा बस्छन् उनीहरू। माघे संक्रान्तिका दिन सबैले मीठोमसिनो खाएर रमाइरहेका वेला उनीहरू भोकै थिए।

मुसहर्नियाकी शर्मिला सुब्बाले दुई थान ब्लयांकेट, पाँच किलो चामल र केही रकम दिएपछि बल्ल उनीहरूले राहत महसुस गरे। उनीहरूको कष्टकर अवस्था थाहा पाएपछि धनगढीमाई-९ घर भई काठमाडौं बस्दै आएका जोना योञ्जनले २५ किलो चामल बराबरको रकम सहयोग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.