|

चार पटक ओलम्पिक च्याम्पियन रहेकी सिमोन बिइल्सले टिम डाक्टर लेरी नस्सारले यौन शोषण गरेको आरोप लगाएकी छन्। रियो ओलम्पिकमा अमेरिकन स्टार खेलाडी रहेकी बिइल्सले नस्सारविरुद्ध यौन शोषणको आरोप लगाएकी हुन्।

२० वर्षकी सिमोन बिइल्सले भनिन्, ‘म जान्दछु कि यो भयानक अनुभवले मात्र मलाई परिभाषित गर्दैन, योभन्दा धेरै शक्ति मसँग छ।’ बिइल्सले ट्विटरमार्फत यौन शोषणको खुलासा गरेकी हुन्। डाक्टर नस्सारलाई भने बाल यौन शोषणको तस्वीर राखेवापत तथा अन्य विभिन्न मुद्दामा ६० वर्षको सजाय सुनाइसकिएको छ। उनले आफूले जिमन्यास्टिक खेलाडीलाई कुटपिट गर्ने गरेको पनि स्वीकारेका छन्।

गैबी डगल्ससमेत तीन भूतपूर्व खेलाडीले नस्सारले औषधि गर्ने बहानामा यौन शोषण गर्ने गरेको आरोप लगाएका छन्। नस्सारलाई यही महिना महिला खेलाडीलाई कुटपिट गरेको आरोपमा पनि सजाय सुनाइएको छ। ५४ वर्षका नस्सारलाई डिसेम्बरमा आफ्नो कम्प्युटरमा बच्चाको साथ यौन शोषण गरेको तस्बीर राखेको सहित विभिन्न तीन आरोपमा सजाय सुनाइएको हो।

नस्सारका एक वकिलले चार स्वर्ण तथा एक कास्य पदक विजेता सिमोन बिइल्सको बयानका विषयमा तत्काल केही प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।

ट्विटरमा बिइल्सले लेखेकी छन्, ‘म ती धेरै पीडितहरूमध्ये एक हुँ, जसलाई नस्सारले यौन शोषण गरे। तपाईंहरूलाई लाग्छ म एक हँसिली, खुसी र ऊर्जावान् युवती हुँ, तर पछिल्लो समय म टुट्दै जान थालेकी छु। म जति आफ्नो आवाज कमजोर पार्दै छु, उति नै मलाई गाह्रो हुँदै गइरहेको छ। त्यसैले अब मैले बोल्न डराउने छैन। अब मेरो कहानी भन्न मलाई कुनै डर छैन।’

उनले अगाडि लेखेकी छन्, ‘२०२० मा टोक्योमा हुने ओलम्पिकको तयारीका लागि पुरानो अनुभवका साथमा रहँदा राम्रो हुनेछैन। म जुन ठाउँमा तयारी गर्न जान्छु, त्यही ठाउँमा मेरो यौन शोषण भएको थियो।’ उनले आफूलाई खेलप्रति उत्तिकै माया रहेको भन्दै कसैलाई आफ्नो उल्लासपूर्ण जीवन र जवानी चोर्न नदिने बताएकी छन्।

नस्सार सन् १९८० देखि २०१५ सम्म जागिरबाट ननिकालिन्जेल जिमन्यास्टिक खेलसँग जोडिएका थिए। उनीविरुद्ध १३० महिलाले यौन शोषणको उजुरी गरेका छन्। ओलम्पिकमा गोल्ड मेडल जित्ने एली रेजम्यान र मैककायल म्यारिनीले पनि नस्सारविरुद्ध यौन शोषणको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.