कृषि क्षेत्रको आधुनिक प्रविधिले कम लागतमा बढी उत्पादन

|

चितवन : वर्षा पम्प र पापा पम्प चितवनको रत्ननगरमा अहिले प्रदर्शनी भइरहेको छ। यी दुईवटै पम्पको काम जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजानु हो।

त्यही पनि विद्युतको सहयोगबिनै। वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ तर पापा पम्पले १५० मिटरसम्म पानी माथि लैजाने बताउँछन् एकजना प्रदर्शक राजेश श्रेष्ठ। यो प्रविधि काठमाडौंबाट ल्याएर रत्ननगर महोत्सवको कृषि परिसरमा प्रदर्शन भइरहेको छ।

पानीको तहमा मिल्ने गरी यन्त्र जडान हुन्छ। त्यो पानीको बहावले चक्का घुम्न थाल्छ। चक्कामा पंखा (पाटा) जडान भएको हुन्छ। त्यसले पानीलाई जोहो गरी पाइपको माध्यमबाट माथि फाल्न मद्धत गर्छ।  मुख्य गरी विद्युत् नभएको पहाडी क्षेत्रका लागि उपयोयी यो कृषि प्रविधि पछिल्लो केही वर्षदेखि किसानको आकर्षण रहेको बताउँछन् श्रेष्ठ।

यसलाई सरकारबाट राम्रो अनुदान रहेकाले किसानको खर्च कम लाग्छ। दिनमा यसले २० देखि ४० हजार लिटरसम्म पानी तान्ने गर्छ। यसले तल खोला भएको स्थानबाट माथि सुख्खा जमिनमा सिँचित गर्न सक्ने भएकाले उतपादन बढाउँछ।

अर्को कृषिको नयाँ प्रविधिक छ ट्रे अर्थात् थालीमा धानको बीउ। थालीमा धानको बीउ उत्पादन गरेर प्रदर्शन गरिएको किसानका लागि अर्को आकर्षण छ। मुख्यगरी यन्त्रले धान रोप्नका लागि थालीमा धान उत्पादन गर्नु जरुरी हुन्छ।

चितवनमा केही सहकारीले यसको सफल परीक्षण गरेको जिल्ला कृषि विकास कार्यालय चितवनका नायव प्राविधिक सहायक गोविन्दबहादुर मल्ल बताउँछन्।

रत्ननगरको विशेष कृषि परिसरमा प्रदर्शन गरिएकाले अन्य किसानलाई पनि सिक्न मद्धत गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख सोमनाथ घिमिरेको भनाई छ। उनी भन्छन्, ‘कृषिमा आधुनिक प्रविधिक लागत कम र उत्पादनमा वृद्धि हुन्छ।’

यो सँगै, अग्र्यानिक च्याउ उत्पादनको सीप सिकाउने व्यवस्था यहाँ छ। च्याउको बीउ राख्नेदेखि उत्पादन गर्ने तरिकासमेत रत्ननगर महोत्सवमा सिकाइन्छ। यस्तै, आधुनिक खालको माछा पोखरी, लिफ्ट र थोपा सिँचाइ, निःशुल्क माटो परीक्षण सेवासमेत यहाँ छ।

नयाँ प्रविधिको पोली हाउस र नेट हाउस प्रविधिको प्रदर्शनी छ। यसले रोग किरा नलाग्ने र क्रस उत्पादन हुन नदिने भएकाले पनि किसानका लागि उपयोगी प्रविधि हो तामक्रमसमेत मिलाउन सहयोग गर्छ नेट हाउसले। यस्तै–यस्तै प्रविधिले चितवनको रतननगरमा जारी रत्ननगर महोत्सवमा किसानको आकर्षण छ।

रत्ननगर माटो परीक्षण प्रयोगशालाका प्रमुख जीवन पौडेल किसानहरुलाई निःशुल्क माटो परीक्षणको सुविधासमेत रहेको बताउँछन्। छुट्टै स्टलहरुमा उत्पादित सामग्रीहरुको कृषि उपज प्रदर्शनी, तथा दूधका परिकारहरुको प्रदर्शन महोत्सवका आकर्षण हुन्।

कृषि परिसरमा भेटिएका किसान कृष्ण शर्मा आधुनिक कृषि प्रविधिका तरिकाहरुबारे जानकारी लिने मौका मिलेको बताउँछन्।

चितवनको रत्ननगर कृषिमा र पर्यटनमा निर्भर छ। यहाँको कृषि उत्पादन धेरै जिल्लामा पुग्छ। त्यसैले चितवनमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगतका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिंदै महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक राजाराम रेग्मी बताउँछन्।

महोत्सव ७ माघसम्म रत्ननगरस्थित टिकौलीको प्रस्तावित क्षेत्रीय रंगशालामा चल्नेछ। महोत्सवमा ५ लाख दर्शकको सहभागिता हुने र करिब ५० करोडको कारोबार हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.