|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि पार्टीका शीर्ष नेता वार्तामा जुटिरहेका छन्। एकता संयोजन समिति नै गठन गरेर एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रियालाई छिटो टुंग्याउने कसरतमा छन्।

गत असोजमा चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका यी दुई दल चुनाव सकिएसँगै पार्टी एकता प्रक्रियाका लागि वार्तामा जुटिरहेका छन्। सरकार गठनअघि नै पार्टी एकता गर्ने तयारीमा यी दुई दल छन्। पार्टी एकताको निर्णय भए पनि सैद्धान्तिक र वैचारिक धार अझै टुंगो लागेको छैन। तर एकतापछि बन्ने पार्टीको नयाँ सैद्धान्तिक र वैचारिक धार तय गर्न शीर्ष नेता कसरतमा छन्। पार्टी एकतापछि केन्द्रदेखि जिल्लास्तरसम्म नेता समायोजन गर्न पनि उतिकै जटिल छ। दुवै पार्टीका शीर्ष नेताहरू देशले वामपन्थीको एकता चाहेको भन्दै पदको लोभ नभएको बताउँदै आएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कार्यक्रममा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री पनि दुई पटक भइसकेको बताउँदै सहमति र सहकार्य गरेर अघि बढ्ने बताउँदै आएका छन्। यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेतृत्वको विषयमा छलफल गर्ने बताउँदै कुनै विवाद नहुने औपचारिक कार्यक्रममा बताउँदै आएका छन्। उनीहरूले नेपाबाट एउटा शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर विश्वमा सन्देश दिने बताउँदै आएका छन्। त्यहीअनुसार एमाले-माओवादीका शीर्ष नेता छलफलमा समेत जुटिरहेका छन्।

तर पछिल्लो एक सातादेखि एकता संयोजन समितिको बैठक बस्न सकेको छैन। गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बैंकक गएपछि एकता संयोजन समितिको बैठक बस्न नसकेको हो। ओली स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्कने बताइएको छ। ओली स्वदेश फर्किएपछि मात्र एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्रका वरिष्ठ नेता तथा संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठ बताउँछन्। भन्छन्, ‘ओलीजी उपचारका लागि गएदेखि छलफल भएको छैन। अब उहाँ नेपाल आएपछि मात्र बैठक बस्नेछ।’

नेकमा एमाले र माओवादीबीच एकीकरणको प्रक्रिया चलेसँगै पार्टीको नाम, नेतृत्व र सिद्धान्तका विषयमा बहस पनि सुरु भएको छ। दुई दलका केही नेताहरूले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवाद हुनुपर्ने बताउँदै आएका छन् तर यस विषयमा भने छलफल नै नभएको श्रेष्ठ बताउँछन्। भन्छन्, ‘पार्टीको नयाँ वैचारिक सिद्धान्त रहन्छ। यस विषयमा छलफल भइरहेको छ तर जनताको बहुदलीय जनवाद र माओवादको विषयमा बैठकमा छलफल नै भएको छैन।’

राष्ट्रियसभा र प्रदेश सरकारमा यसरी हुँदै छ बाँडफाँट

राष्ट्रियसभा सदस्य र प्रदेश सरकारको निर्वाचनका लागि उम्मेदवारी बाँडफाँट गर्न एमाले र माओवादीले कार्यदल नै बनाएका छन्। उक्त कार्यदलले राष्ट्रियसभा निर्वाचन तथा प्रदेश सरकार निर्वाचनका लागि साझा उम्मेदवार तय गर्नेछ।

उक्त कार्यदलको बैठक बुधबार बस्ने कार्यदल सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले बताए। उनले भने, ‘कार्यदलको बैठक भोलि (शुक्रबार) बस्दै छ। हामी भोलिको बैठकमा राष्ट्रियसभाका लागि उम्मेदवारको फाइनल गर्ने तयारीमा र्छौँ।’ उनले मतदाताको संख्यालाई आधार मानेर उम्मेदवारी बाँडफाँट गरिने जानकारी दिए। उनले भने, ‘कसले कति पाउने भन्दा पनि मतदाताको संख्यालाई आधार बनाएर उम्मेदवारको बाँडफाँट गर्नेछौँ।’ पटक पटक कार्यदलको बैठक बस्दा पनि  निश्कर्षमा पुग्न सकेको छैन। एमाले अध्यक्ष ओली स्वदेश फर्किएपछि बाँडफाँटको टु‌ंगो लाग्ने एक नेताले बताए। 

कार्यदलले राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका पदमा दुवै दलको साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेस गर्नेछ। वाम गठबन्धनको प्रदेशसभातर्फ प्रदेश नम्बर- २ बाहेकका छवटा प्रदेशमा सरकार बन्ने निश्चित छ।

माओवादी केन्द्रका एक नेताका अनुसार माओवादीले दुईवटा प्रदेशमा आफूले पाउनुपर्ने दाबी गरेको छ। यस्तै, प्रदेशतर्फ चार सभामुख माओवादीले माग गरेको ती नेताले बताए। उनले भने, 'हामीले प्रदेशसभातर्फ प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री दाबी गरेका छौँ। राष्ट्रियसभातर्फ ६०/४० का अधारमा बाँडफाँट हुनुपर्ने हाम्रो माग हो, यो छलफलमै छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.