|

  • विकास डाँगी-

दाङ : दाङमा मंगलबारदेखि सुरु भएको २८औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिमले आफ्नो विजयी यात्रा सुरु गरेका छन्। 

तुलसीपुरस्थित अरनिको मैदानमा भएको उदघाटन खेलमा मध्यपश्चिमलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले पराजित गर्दै एपीएफले विजयी यात्रा सुरु गरेको हो। मंगलबार नै घोराही भरतपुर खेलमैदानमा भएको खेलमा मध्यपश्चिमलाई शून्यका विरुद्ध सुदूरपश्चिमले १ गोलले पराजित गरेको छ। 

एपीएफका तर्फबाट खेलको ११औँ मिनेटमा जर्सी नम्बर १८ का खेलाडी अमित अधिकारीले गरेको गोल नै निर्णायक गोल सावित भएको छ। सुदूरपश्चिमका १८ नम्बर जर्सीका खेलाडी फिलित तामाङले दोस्रो हाफको ४२औँ मिनेटमा हानेको गोल नै विजयी यात्राको सुरुवात भएको हो।

प्रतियोगिताअन्तर्गत भोलि बुधबार तुलसीपुर अरनिको खेलमैदानमा पश्चिमाञ्चल र नेपाल प्रहरीबीच दिउँसो १ बजे खेल हुनेछ।

माघ ४ गते तुलीपुरमा सशस्त्र प्रहरीको विभागीय टिम र मध्यपश्चिमाञ्चल विकास  क्षेत्रबीचको विजेता र नेपाल पुलिस क्लव र पश्चिमाञ्चल क्षेत्रीय टिमबीचको विजेताका बीचमा खेल हुनेछ।

माघ ४ गते घोराहीमा पनि दिउँसो १ बजेदेखि मध्यमाञ्चल क्षेत्रीय टिम र सुदूरपश्चिमाञ्चल क्षेत्रीय टिमबीचको विजेता र पूर्वाञ्चल क्षेत्रीय टिम र त्रिभुवन आर्मी क्लवबीचका विजेताको बीचमा खेल हुनेछ।

प्रतियोगिताको अन्तिम तथा फाइनल खेल माघ ६ गते घोराहीमा दिउँसो २ बजेदेखि माघ ४ गते तुलसीपुरमा हुने खेलका विजेता र घोराहीमा हुने खेलका विजेताका बीचमा हुने खेल तालिका रहेको दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत तुलसीपुरमा तीनवटा र घोराहीमा पाँचवटा खेलहरू हुनेछन्। मध्यपश्चिमको टिममा दाङका सात खेलाडी परेका छन्। 

०४४ सालमा दाङमा महिला राष्ट्रिय फुटबल प्रतियोगिता भए पनि त्यसयता कुनै पनि राष्ट्रिय प्रतियोगिता हुनसकेको थिएन। 

पाँच विकास क्षेत्रबाट एक एक टोली र तीनवटा विभागीय टोली गरी कुल आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्।

अखिल नेपाल फुटबल संघको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा उक्त प्रतियोगिता संचालन भएको हो।

दाङमा ३३ वर्षपछि राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता सुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.