|

इलाम : प्रदेश नम्बर– १ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले प्रहरी कार्यालयहरू पुनर्निर्माण गरिएपछि इलाका र प्रहरी चौकीले प्रदान गर्ने सेवामा आत्मबल थपिएको महसुस भएको बताए। 

नेपाल–भारत सीमाको पशुपतिनगरमा पुनर्निर्माण गरिएको इलाका भवन उदघाटन गर्दै उनले भने, ‘अब कार्य क्षमतामा पनि सुधारको महसुस हुनेछ।’ उनले प्रहरीमा पनि प्रविधिअनुसार अनुसन्धानको विधि परिवर्तन हुँदै गएकाले नागरिकमा परिवर्तनको महसुस हुने धारणा राखे। 

२०६० चैत २५ गते क्षतिग्रस्त भएको पशुपतिनगरको भवन निर्माणका लागि नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालय शान्तिकोष सचिवालयबाट एक करोड ६४ लाख ३१ हजार ८४० रुपैयाँ प्राप्त भएकामा एक करोड ४३ लाख ४० हजार ८१९ रुपैयाँमा इलाका भवन निर्माण सम्पन्न गरिएको प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए। 

भवनको भुइँ तलामा सुविधायुक्त पुरुष तथा महिला हिरासत कक्षहरू, सुरक्षा गार्ड कक्ष, प्रशासनिक कक्ष, कार्यालय प्रमुख, अपराध अनुसन्धान कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बैठक कक्ष र सञ्चार कक्षलगायत १४ वटा कोठा रहेको उनले बताए। 

भवन उद्घाटन गर्दै एआईजी उपाध्यायले अपराधको स्वरूप बदलिएको भन्दै प्रहरीले पनि अनुसन्धानको दायरा फराकिलो पारेको बताए। उनले अपराधको गहिराइमा पुगेर मात्र अपराधीको पहिचान गर्नुका साथै सामाजिक दबाबको भरमा अनुसन्धानलाई कसैप्रति केन्द्रित गर्नु नहुनेसमेत बताए। 

संघीय इकाई प्रहरी कार्यालय चन्द्रगढी झापाका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले कर्तव्य पालनका क्रममा सबै तहले अग्रसरता लिनुपर्ने बताए। प्रहरीको संरचनाले जनतालाई राहतको आभास भएको निर्माण समितिका अध्यक्ष सवित्री सिवाले बताइन्। 
दरबन्दीभन्दा कम छन् प्रहरी
भारतको दार्जिलिङ र इलाम सुदूरपूर्वी क्षेत्रको नाका पशुपतिनगरमा वि. सं. २०२२ भदौ ४ गते स्थापित इलाका प्रहरी कार्यालयको मातहत ११ वटा प्रहरी चौकी र एउटा सीमा प्रहरी चौकी रहेका छन्। तिनमा प्रहरी निरीक्षकदेखि सिपाहीसम्म गरेर २२६ जनाको दरबन्दी रहे पनि हाल १३६ जना मात्र कार्यरत रहेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपीन कर्मचार्यले बताए।

पशुपतिनगर इलाका प्रहरीले सूर्योदय नगरपालिका, रोङ र माईजोगमाई गाउँपालिकाका ९६ हजार ८७० जनसंख्यालाई सुरक्षा दिँदै आइरहेको छ। 

दरबन्दीभन्दा कम प्रहरी भए पनि मौजुदा जनशक्तिलाई अधिकतम परिचालन गरी शान्ति सुरक्षा र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा प्रत्यक्ष संलग्न रही सक्रिय भूमिका निर्वाह गर्न सफल भएको कर्मचार्यले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.