|

काठमाडौं : सर्वोच्च अदालतले ज्यान मुद्दामा पाँच वर्षको जेल सजाय सुनाएका दीपक मनाङे भनिने राजीव गुरुङलाई जहाँ भए पनि पक्राउ गर्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताएका छन्।

मनाङे स्वतन्त्रतर्फ प्रदेश नम्बर ४ को मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र 'ख'बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

न्यौपानले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीकहाँ पुग्ने बित्तिकै पक्राउ गर्ने र जेल चलान गर्ने बताए। उनले भने, 'अहिले आधिकारिक पत्र आइपुगेको छैन, आउनासाथ निश्चित रुपमा हामी पक्राउ गर्छौ, अदालतको फैसला कार्यान्वयन गर्छौं।'

मंगलबार सर्वोच्च अदालतले ज्यान मुद्दामा मनाङेलाई पाँच वर्ष जेल चलान गर्ने फैसला गरेको थियो। सर्वोच्चले तत्कालीन पुनरावेदन अदालत, पाटनले गरेको फैसलालाई सदर गरेको हो।

सर्वोच्चको उक्त फैसलासँगै मनाङेको सांसद पद स्वतः निलम्बन भएको छ। सर्वोच्च अदालतले सांसदलाई दोषी ठहराएपछि उक्त पद स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ। सो पदको लागि ६ महिनाभित्र पुनः निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ।

मनाङेलाई कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालतले ०६९ सालमा दोषी ठहर गरेको थियो। सोही मुद्दामा रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई पनि पुनरावेदनले दोषी ठहर गरेको थियो। त्यसपछि मनाङेबाहेकका अभियुक्तहरु सर्वोच्च अदालत पुगेका थिए। मंगलबार न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई दोषी करार गर्दै पाँच वर्षको जेल सजाय सदर गर्‍यो भने अन्य चारजनालाई सफाइ दिएको छ।

मनाङे भन्छन्: मेरो बारेमा फैसला होइन

दीपक मनाङेले भने आज सर्वोच्चले गरेको फैसला आफ्नो बारेमा नभएको बताएका छन्। उनले आफू सर्वोच्च अदालत नगएको बताए। 'मैले यो मुद्दामा कुरा नै बुझिनँ, म पहिला यही मुद्दामा २ वर्ष जेल बसेको हो', थाहाखबरसँग कुरा गर्दै मनाङेले भने, 'त्यो मुद्दाका चारजना सर्वोच्च गएका हुन्, म गएको होइन त कसरी फैसला मेरो हकमा भयो?'

उनले बाँकी चारजना पुनरावेदनका लागि सर्वोच्च अदालत गएको बताए। उनले स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बीचमा दुई पटक बोलाइए पनि आफू चुनावपछि जाने भनेर व्यस्त भएको बताए। उनले अहिले उक्त फैसलाबारे वकिलसँग कुरा गरिरहेको बताए। आज मात्रै मनाङबाट काठमाडौं आइपुगेको बताउँदै उनले भने, 'म वकिललाई सोध्दै छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.