|
फाइल फोटो

वीरगञ्ज : नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमास्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगञ्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा मिसिन गएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका १२ स्थानीयको करिब ३० बिघा नम्बरी जग्गा नै भारतमा मिसिन गएको हो।

नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दगशजा क्षेत्रमा पिलरको मर्मत र निर्माण गर्ने क्रममा स्थानीय रविन्द्र महतो कोइरी, महावीर दास, बद्री साह, नेमी साह, असर्फी साह कानुसहित १२ नेपालीको गरेर करिब ३० बिघा नम्बरी जग्गा, नयाँ पिलर निर्माणपछि भारत तर्फ पर्न गएको हो। ३९२ नम्बरको जङगे पिल्लर अन्तर्गतका २९ वटा सहायक पिलरमध्ये १२ वटा पिलर स्थानीयको लालपूर्जा भएकै जग्गामा परेको छ।

नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा दुवै देशबीच भएको सुगौली सन्धिमा उल्लेख गरिएको सीमा नक्शाको आधारमा अहिले पिलर निर्माण भइरहेका बेला वीरगञ्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि स्थानीयले बर्षौदेखि भोगचलन गर्दै आएको करिब ३० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको हो।

पिलर गाड्ने क्रममा स्थानीयसँग कुनै राय सुझावसमेत नलिई जीपीएस प्रणालीद्वारा लिइएको नक्शाको आधारमा मात्रै पिलर राख्न लागिएकाले आफूहरूको जग्गा भारततर्फ पर्न गएको पीडित जग्गाधनीले बताएका छन्।

नेपाल सरकारले पुस्तौदेखि भोगचलन गर्दै आएको नम्बरी जग्गामै पिलर गाडेकाले आफूहरूले मालपोत कर समेत तिरेर भोगचलन गर्दै आएको जग्गा गुमाउनु पर्ने अवस्था आएकोपीडित जग्गधनी मध्ये रवीन्द्र महतो कोइरीले गुनासो गरे।

‘यदि यो जग्गा भारतकै थियो भने नेपाल सरकारले हामीलाई लालपूर्जा किन दियो त ?’ कोइरीले प्रश्न गर्दै भने, ‘आफ्नो नाममा रहेको जग्गामा पिलर गाड्न लागेको देखेपछि मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमासमेत जानकारी गराउदा पनि कुनै सुनुवाइ नगरी नेपाल सरकारले नम्बरी जग्गामा पिलर गाडेपछि हामी विरोध गर्न बाध्य छौँ।’

सँगै स्थानीय महावीर दासको नाममा रहेको कित्ता नम्बर ४८ र १४ को जग्गा पनि नयाँ पिलर गाडिएपछि अब भारतमा पुगेको छ। छपकैयाकै बद्री साह कानुको कित्ता नम्बर ४५, ५२ र ६५ गरी तीन कित्ताको जग्गा पनि नयाँ पिलर निर्माण गरिएपछि साहले पनि आफनो पुस्तैनी जग्गा गुमाएका छन्। 

अहिलेसम्म त हामी नेपाली थियौं, तर अब हाम्रो पुस्तौनी जग्गा भारततर्फ परेपछि हामी नेपाली वा भारतीय नागरिक को हौं भन्ने अन्योलमा परेका छौँ, साहले भने, ‘यहा भारतको त कुरै छाडौं नेपाल सरकारले नै हामीलाई यो देशको नागरिक बन्नबाट बञ्चित गर्दैछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.