|
फाइल फोटो

काठमाडौं : हरेक दिनजसो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बताउँदै आएको सरकार अन्ततः एमाले अध्यक्ष केपी ओलीलाई कुर्ने निष्कर्षमा पुगेको छ।  उपचारका क्रममा बैंककमा रहेका अध्यक्ष ओली फर्केपछि एकपटक छलफल गरेर मात्र निर्णय लिने निष्कर्षमा प्रधानमन्त्री पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

तर, कानुनमन्त्री यज्ञबहादुर थापा र श्रममन्त्री फरमुल्लाह मन्सुर भने बुधबार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने बताउँछन्। प्रदेश प्रमुख र अस्थायी राजधानीका विषयमा निर्णय गर्न भन्दै मंगलबार बिहानका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक मंगलबार साँझलाई सारिए पनि पुनः बुधबार बिहानका लागि सारिएको छ। तर, प्रधानमन्त्री भने प्रदेश अस्थायी राजधानीमा चौतर्फी विरोध र आफ्नै पार्टीभित्रको असन्तुष्टिपछि ओली नफर्किएसम्म निर्णय नगर्ने निष्कर्षमा  पुगेका हुन्।

‘बुधबार बस्ने बैठकमा मन्त्रीहरूको ठूलै दबाब आएको अवस्था र एमालेबाट पनि सकारात्मक संकेत आए बेग्लै कुरा नत्र उहाँ (केपी ओली) नफर्किएसम्म निर्णय नगर्ने निष्कर्षमा पुग्नुभएको छ,’ प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो। स्रोतका अनुसार सहमतिमा नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारीमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवा केही दिन पर्खेर भए पनि एमाले अध्यक्ष ओलीसँगको छलफलपछि मात्रै सोबारे निर्णय गर्ने मनस्थितिमा पुगेका हुन्।

‘एमाले अध्यक्ष देश बाहिर हुनुन्छ, उहाँ फर्किएपछि मात्रै सरकारले सोबारे निर्णय गर्छ। प्रधानमन्त्रीज्यूको चाहना सकेसम्म सहमतिबाटै प्रमुख र अस्थायी राजधानी तोक्ने भन्ने छ,’ कांग्रेसका अर्का एक नेताले भने। ओली बिहीबार फर्कने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.