|

कपिलवस्तु : लाखौँको चिठ्ठा परेको भन्दै ठगी गरेको अारोपमा गत एक जना पक्राउ गरेको एक हप्ता नबित्दै अर्का व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ।नेपाली झण्डा प्रयोग गरी वेभ डिजाइन बनाएर चिठ्ठा परेको भन्दै ठगी गर्ने एक भारतीय नागरिक कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ परेका हुन्।

पक्राउ पर्ने भारतको गोरखपुर थाना शाहपुर कौवाबाघका २८ वर्षीय अजितकुमार सिंह हुन्। पक्राउ परेका भारतीय नागरिक सिंहको साथबाट प्रहरीले ५५ हजार रुपैयाँ, नक्कली कागजपत्र बरामद गरेको छ।

आरोपी गत पुस ३० गते चन्द्रौटास्थित जस्मिन मनी ट्रान्सफरबाट पक्राउ परेका हुन्। प्रहरीले आरोपीलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।चन्द्रौटास्थित जस्मिन मनी ट्रान्सफरबाट रकम झिक्ने क्रममा विशेष सूचनाका आधारमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

सुनसरी जिल्ला धरान उपमहानगरपालिका–८ का २८ वर्षीय सरोज रानामगरलाई २५ लाख चिठ्ठा परेको प्रलोभनमा पारी करवापत ५५ हजार बैंकमा जम्मा गर्न लगाई भारतीय गिरोहले ठगी गरेको आरोप उनलाई लगाइएको छ। सरोजले ग्लोबल आईएमई बैंक धरानबाट अजितकुमार सिंहको नाममा ५५ हजार पठाएका थिए। इन्टरनेट भाइबरमा विजयकुमार नामका अपरिचित व्यक्तिले पीडित सरोजलाई २५ लाख चिठ्ठा परेको प्रलोभन देखाई करवापत पहिलो किस्तामा ५५ हजार बैंकमा जम्मा गर्न लगाइएको प्रहरीले जनाएको छ।

कर रकममध्ये दोस्रो किस्ता ४५ हजार जम्मा गरेपछि मात्र २५ लाख पाइने गिरोहले प्रलोभन देखाएको पीडितको भनाई उदृत गर्दै प्रहरीले बताएको छ। ठगीको घटनामा अन्य भारतीय नागरिकहरुको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ। सर्वसाधारणलाई ठगी गर्ने गिरोहले नेपाली झण्डा प्रयोग गरी वेभ डिजाइन गरी २५ लाख चिठ्ठा परेको नक्कली डकुमेन्ट बनाई अनलाइन माध्यमबाट पीडितसँग सम्पर्कमा आई ठग्ने गरेको बुझिएको छ।

आरोपीलाई जिल्ला अदालत तौलिहवाबाट ठगी मुद्धामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। प्रहरी निरीक्षक भट्टराईले नेपालको कानुनमा चिठ्ठा वा उपहार परेमा कर कट्टा गरी बाँकी चिठ्ठा परेकालाई उपलब्ध गराइने व्यवस्था रहेको बताए।

उता प्रहरीले गत पुस २८ गते कृष्णनगर नगरपालिका–३, झण्डिनगरका ३३ वर्षीय सन्तोषकुमार गुप्तालाई ठगी मुद्दामा पक्राउ गरिएको थियो। उनलाई प्रहरीले कृष्णनगरमा रहेको सिद्धार्थ बैंक लिमिटेडबाट पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.