१४ स्वास्थ्य चौकीमा प्रसुती सेवा नै छैन

|

उदयपुर: कटारी नगरपालिका- ११ का सर्वसाधरण एक गोली सिटामोलका लागि दुई घण्टा पैदल हिँडेर मयाँखु पुग्नुपर्छ वा ४०० रुपैयाँ भाडा तिरेर कटारी अस्पताल जानुपर्छ। ‘यो नयाँ वडा हो’, कटारी- ११ का वडा अध्यक्ष दीपक बुढाथोकीले भने, ‘अहिले स्वास्थ्य चौकी छैन, मयाँखु, बसेरी, कटारी अस्पताल तथा सोरुङसम्म यहाँका सर्वसाधारणले धाउनुपर्छ।’

यो समस्या कटारी नगरपालिका- ११ को मात्र होइन, रौतामाई गाउँपालिका- ८ चिसनापानीका सर्वसाधारण पनि त्यही सिटामोल लिन मात्र चार घण्टा पैदल हिँडेर मुर्कुची बजार नपुगी हुँदैन। सरकारी तथा निजी क्षेत्रबाट प्राथमिक स्वास्थ्य सेवा पुग्न नसक्दा आधारभूत स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुँदै आएका छन्।

पहिलेका गाविस अहिले गाउँपालिका र नगरपालिका बने। तर, स्वास्थ्य समस्या भने यथावत छ। रौतामाई गाउँपालिकामा ८ वटा वडा छन्। तीमध्ये ६ र ८ मा न त प्राथमिक उपचार गर्ने कुनै सरकारी स्वास्थ्य संस्था छन्, न निजी क्लिनिक नै। ‘रौता गाउँपालिकाको वडा नं. ६ को चिसापानी र ८ को पुवारे भन्ज्याङमा प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी नराखी नहुने अवस्था छ’, वडाध्यक्ष टेकबहादुर बलम्पाकीले भने, ‘यी वडाका सर्वसाधारणले सामान्य औषधिका लागि पनि कम्तिमा चार घण्टा हिँड्नुपर्ने बाध्यता छ।’

सरकारले सिंहदरबारको अधिकार गाउँसम्म पुर्‍याउने र ग्रामीण क्षेत्रका सर्वसाधारणलाई शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, संंचारलगायतका आधारभूत आवश्यकता सर्वसुलभ ढंगबाट उपलब्ध गराउने नीति लिएको छ। तर  काममा ढिलाइ भइरहेको रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काको गुनासो छ। ‘सरकारले सोही नीतिबमोजिम राज्यको पुनर्संरचना गर्‍यो’, अध्यक्ष खड्काले भने, ‘तीन तहकै निर्वाचन पनि भइसक्यो, त्यसैले अब केही हुन्छ कि भन्ने आशा पलाएको छ।’

२८ वटा वडामा स्वास्थ्य चौकी छैन
उदयपुरका आठवटा स्थानीय तहमा जम्मा ७५ वटा वडामध्ये २८ वडामा प्रथामिक स्वास्थ्य चौकीसमेत छैन। टुक्रिएर बनेका नयाँ वडाहरू स्वास्थ्यचौकीविहीन छन्। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४७ वटा वडामा मात्र स्वास्थ्य चौकी छन्। ‘भौगोलिक हिसाबले पहिलादेखि नै विकट ग्रामीण क्षेत्रमा स्वास्थ्य चौकी छैन’, जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियाँलाल यादवले भने, ‘अहिलेको पुनर्संरचनाअनुसार स्वास्थ्य चौकीविहीन बनाएका छन्, त्यस वडाका सर्वसाधरणहरू छिमेकी वडाहरूमा जान बाध्य छन्। त्यसमा कतैकतै निजी स्वास्थ्य क्लिनिकले समेत सेवा दिइरहेका छन्।’

कटारी नगरपालिकाका जम्मा १४ वटा वडामध्ये २, ३, ५, ६ र ११ नम्बर वडामा सामान्य उपचार हुने स्वास्थ्य चौकी छैन। यसैगरी चौदण्डीगढी नगरपालिकामा जम्मा १० वडामध्ये २, ३ र ६ नम्बर वडामा स्वास्थ्य चौकी छैन। जनस्वास्थ्य कार्यालयका अनुसार बेलाका नगरपालिकाको जम्मा नौवटा वडामध्ये २, ४, ५, ८ र ९ नम्बर वडामा स्वास्थ्य चौकी छैनन्।

सदरमुकाम गाईघाट रहेको त्रियुगा नगरपालिकाका १६ मध्ये १, ३, ४, ५, ६, ७, ९, ११, १२, १३ नम्बर वडा स्वास्थ्य चौकीविहीन छन्। तर, निजी स्वास्थ्य संस्थाहरू धेरै रहेका छन् भने जिल्ला अस्पतालको पहुँचभित्रै पर्दछन्।

रौतामाई गाउँपालिकाका जम्मा आठ वडामध्ये ६ र ८ मा स्वास्थ्य चौकी छैनन्। सुनकोसी र ताप्ली गाउँपालिकाका जम्मा पाँचवटै वडामा स्वास्थ्य चौकी छन्। उदयपुरगढी गाउँपालिकाका जम्मा आठवटा वडामध्ये २, ५, ६ र ७ नम्बर वडामा स्वास्थ्यचौकी नभएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ।

१४ स्वास्थ्यचौकीमा प्रसुती सेवा नै छैन
१४ वटा सरकारी स्वास्थ्य चौकी अझै प्रसुतीगृह (वर्थिङ सेन्टर) विहीन छन्। जिल्लाभित्र रहेका ४७ वटा सरकारी स्वास्थ्य संस्था (जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकी) मध्ये ३३ वटामा मात्र अहिलेसम्म प्रसुतीगृह सेवा छ। 

सरकारले मातृशिशु मृत्युदर कम गर्न सुरु गरेको आमा सुरक्षा कार्यक्रमअन्तर्गत अनिवार्य रूपमा प्रसुतीगृहको व्यवस्था गर्ने नीति छ। तर, १४ वटा स्वास्थ्य संस्थामा नभएको जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ। ३३ वटा सरकारी स्वास्थ्य संस्था विभिन्न नामका गैरसरकारी संस्था र स्थानीयको श्रमदानमा बनेका हुन्। १४ वटा स्वास्थ्य संस्था नबन्दा परम्परागत रूपमै गर्भवती महिला सुत्केरी हुने गरेका छन्। 

प्रसुतीगृह नभएकाले गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुत्केरी हुँदासमेत प्रोत्साहन भत्ता स्वरूप एक हजार ४०० रुपैयाँ नगद र नाबालकका लागि न्यानो झोलासमेत पाएका छैनन्। ‘जहाँ प्रसुती सेवा छ, त्यहाँका गर्भवती महिलाले पाए’, कार्यालयका सूचना अधिकारी दुनियाँलाल यादवले भने, ‘अबको स्थानीय सरकारले प्रसुती सेन्टर नभएका क्षेत्रमा व्यवस्था गर्नुपर्दछ, नभएका ठाउँमा अहिलेसम्म पाएका छैनन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.