|

दार्चुला : निर्वाचन सम्पन्न भएको झण्डै ६ महिनापछि दार्चुलाका स्थानीय सरकारहरूले आफ्नो काम थालेका छन्। निर्वाचन र आवश्यक नीति निर्देशनको अभावमा काम गर्न केही असजिलो भए पनि अत्यावश्यक नीति निर्माण गर्ने र परिषद्हरूले निर्णय गरेका विकास योजनाहरूको निर्माण कार्य सुरु गरिएको छ।

सदरमुकाम रहेको महाकाली नगरपालिकाले छवटा निर्देशिकाहरू तयार पारेर काम सुरु गरेको जनाएको छ। नगरपालिकाले जनसहभागितामा सम्पन्न हुने विकास निर्माणको कार्यलाई कार्यान्वयन गर्न उपभोक्ता समितिहरू गठन गर्ने काम सुरु गरेको नगर प्रमुख हंसराज भट्टले जानकारी दिए।

जिल्ला सदरमुकामबाट झण्डै १८ कोस उत्तरपूर्वमा रहेको मार्मा गाउँपालिकाले पनि झण्डै ८० प्रतिशत उपभोक्ता समितिहरूले कार्यारम्भ गर्न सम्झौता गरिसकेका छन्। गाउँपालिकाको भवन निर्माण गर्दै गरेको मार्मा गाउँपालिका केन्द्रमा दैनिकजसो सेवाग्राहीको समेत भीड लाग्ने गरेको देखिन्छ।

सेवाग्राहीहरूले सदरमुकाम केन्द्रबाटै सेवा लिनुपरेकाले असहजता भएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी बताउँछन्। उनी वडा कार्यालयबाटै बजेट निकासा गर्ने व्यवस्था गर्नुपर्ने बताउँछन्। 'स्थानीय सरकार पनि भन्ने वडा कार्यालयसम्म पनि अधिकार नदिने सरकारको गलत रवैयाका कारण नागरिकले संघीयतामा पनि दु:ख पाउन थालेका छन्', अध्यक्ष धामीले भने।

जनसंख्याका हिसाबले ठूलो शैल्यशिखर नगरपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्ने भन्दै विद्यालयहरूको अवस्था, विद्यार्थी र शिक्षकहरूको प्रारम्भिक तथ्यांक लिने काम सुरु गरेको नगरपालिकाका प्रवक्ता माधव भट्टले बताए। फर्जी विद्यार्थीहरू हुनसक्ने आशंकाले तथ्यांक लिन सुरु गरिएको बताउँदै गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले विद्यालय मर्ज गर्ने, तह घटुवा गर्ने, दरबन्दी मिलान गर्ने कामसमेत गर्ने नगरपालिकाका प्रवक्ता भट्टले जानकारी दिए।

नौगाढ गाउँपालिकाले सडक निर्माण कार्यलाई अगाडि बढाएको छ भने गाउँपालिकाको सदरमुकाम रहने क्षेत्रमा भौतिक निर्माण कार्यसमेत सुरु गरिने उपाध्यक्ष गौरीदेवी ठगुन्नाले जानकारी दिइन्।

गाउँपालिकाको केन्द्रका बारेमा विवाद हुँदा तालाबन्दी रहेको कारण गाउँपालिकाको काममा केही समय अवरोध भए पनि मन्त्रिपरिषद्को निर्णयसँगै गाउँपालिका केन्द्रको विवाद अन्त्य भएको र अब विकास निर्माण कार्यलाई द्रूत गतिमा अगाडि बढाउने गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए।

नीति निर्माण र विकास निर्माणमा मात्रै नभएर स्थानीय सरकारको कामलाई पारदर्शी र जवाफदेही बनाउन आफूहरू प्रतिबद्ध रहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिह धामीले बताए। गाउँपालिकाके नीति, निर्देशन, सेवा, सुविधा र विकास निर्माणका कामहरूलाई जवाफदेही र पारदर्शी बनाउन आफूहरू तेस्रो पक्षलाई राखेर सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण गर्ने तयारीमा रहेको अध्यक्ष धामीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.