|

काठमाडौं : निखिल उप्रेती नेपाली फिल्म क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन। निखिलले १७ वर्ष पहिले फिल्म 'पिँजडा'बाट धमाकेदार स्टन्टसहित नेपाली फिल्ममा इन्ट्री गरेका थिए। 'पिँजडा'मा सात तलामाथिबाट हामफालेर चर्चा कमाएका निखिलले त्यसपश्चात आफ्नो करिअरमा पछाडि फर्केर हेर्नुपरेन। धेरै सफल फिल्महरूमा अभिनय गरिसकेका निखिल 'एक्सन स्टार'का रूपमा चिनिन्छन्।

ज्याकी र ब्रुस लीका फ्यान, उनीहरू जस्तै बन्ने चाहना

सानै उमेरदेखि ज्याकी चान र ब्रुस लीका फ्यान थिए, निखिल। स्टन्ट अनि फाइट एकदमै रुचाउथेँ। निखिलसँग ज्याकी चान र ब्रुस लीका धेरै पोस्टरहरू हुन्थे। निखिल सम्झिन्छन्, 'मेरो गोजीमा ज्याकी चान र ब्रुस लीका पोस्टरहरू हुन्थे।' निखिलसँग भएका दुई तस्वीरमा ज्याकी चानले लौरी घुमाएका थिए। निखिललाई त्यो गर्न मन लाग्यो। भन्छन्, 'मैले लौरो घुमाउनका लागि एउटा काठ तयार गरेँ र तासेर सानो बनाएँ। तर काठ छनोट राम्रो नभएकाले जति तासे पनि गरौँ थियो।' आखिर पोस्टरमा हेरेकै भरमा निखिलले लौरो घुमाउन सिके।

अब उनलाई अझ धेरै सिक्नु थियो अनि ज्याकी चान र ब्रुस ली जस्तै बन्नु थियो। उनी मार्शल आर्ट सिक्न थाले। धेरै मिहिनेत गर्थे उनी। सम्झिन्छन्, 'मलाई ज्याकी चान र ब्रुस ली जस्तै बन्नु थियो। त्यसैले पनि खुबै लागेर सिकिन्थ्यो।' उनलाई मार्शल मात्र सिकेर चित्त बुझेन्। उनी उसु खेल्न सुरु गरे। उसु पनि उनी निकै मिहिनेत गरेर सिक्थे।

प्रवीणता प्रमाणपत्र तहका सर्टिफिकेट च्यातिदिए

निखिल पढ्दै पनि थिए। १० कक्षासम्मको अध्ययन जन्मस्थान सर्लाहीमै पूरा गरे। प्रवीणता प्रमाणपत्र तह पढ्न वीरगञ्ज हानिए। वीरगञ्जबाट प्रवीणता प्रमाणपत्र तहको पढाइ पनि सके। तर उनी किताबी ज्ञानलाई खास अर्थ दिँदैनथे। जीवन भोगाइ हो र त्यसैबाट सिकाइ र ज्ञान प्राप्त हुन्छ भन्ने मान्यता निखिलमा थियो। भन्छन्, 'किताब पढ्नुपर्दा म किताबभित्र के छ भनेर कहिल्यै पढ्दिनथेँ। यो किताब किन पढ्दै छु, यो किताब किन लेखियो जस्ता कुराहरू सोच्ने गर्थें।'

निखलले प्रवीणता प्रमाणपत्र तह सके तर उनलाई सर्टिफिकेटले जीवनमा खास अर्थ राख्छ जस्तो लागेन। 'जागिर खानका लागि सर्टिफिकेट देखाउनुपर्ने रे! आफू स्वयम् अगाडि हुँदा मूल्यांकन गर्न नसक्नेले अर्काले बनाएर दिएको सर्टिफिकेट हेरेर मूल्यांकन गर्ने भन्ने हुन्छ?', उनी भन्छन्, 'अनि लाग्यो, यो सर्टिफिकेटले खास अर्थ राख्दैन।'

निखिलले त्यही मान्यता राखेर सर्टिफिकेट नै च्यातिदिए। उनीसँग अहिले कुनै शौक्षिक प्रमाणपत्र छैनन्। भन्छन्, 'मैले मेरो प्रवीणता प्रमाणपत्र तहसम्मका सबै सर्टिफिकेट च्यातेर जलाइदिएँ। मसँग अहिले कुनै शौक्षिक प्रमाणपत्र छैनन्।' तर निखिलले मार्शल आर्ट र उसुका प्रमाणपत्र भने राखेका छन्।

फिल्म अध्ययनका लागि मुम्बई

ज्याकी चान र ब्रुस ली जस्तै बन्ने सोच उनमा अझै थियो। जिम्न्यास्टिक एकदमै राम्रो गर्थे। धेरैले उनलाई हिरो बन्न सुझाए। आखिर निखिलको चाहना पनि त्यही थियो।

घरमा कुरा गरे अनि पढ्नका लागि मुम्बई हानिए। कुरा वि. सं. २०४९ सालतिरको थियो। उनी मुम्बई पुगेर फिल्म निर्देशन पढ्न थाले। उनीसँगै रोहित शेट्ठी र रानी मुखर्जी पनि पढ्थे। दुवै उनका साथी थिए। उनीसँग पढ्ने साथीहरू उनलाई मार्शल अनि उसु सिकाउन आग्रह गर्थे। उनी सिकाउँथे पनि।

मुम्बईमा उनलाई धेरैले माया गर्थे। पढाइको कक्षामा होस् वा बाहिर, उनलाई माया गर्ने धेरै थिए। उनी सम्झिन्छन्, 'म एकदमै शालीन स्वभावको थिएँ। कोहीसँग रिसाएर कुरा गर्दिनँथेँ। त्यसैले पनि मलाई सबैले माया गर्थे।'

निखिल त्यहाँ भएका केही घटना सम्झिन्छन्। एक दिन निखिल बिरामी परेर सुतेका थिए। उनको डेरा नजिकै एउटा मेडिकल थियो। मेडिकलका डाक्टरसँग पनि उनको राम्रै सम्बन्ध थियो। निखिल बिरामी भएको उक्त डाक्टरले थाहा पाएछन् र निखिलकै रुममा आएर उपचार गरिदिए। अनि डाक्टरले भने, 'बिरामी भएको जतिसुकै बेला पनि आए हुन्छ। तिमीलाई नि:शुल्क उपचार गराइदिन्छु।'

निखिलले फिल्ममा सहायक निर्देशकको काम गर्ने अवसर पाए। धेरै फिल्ममा फाइट कम्पोजरको पनि काम गरे। निखिल भन्छन्, 'मैले धेरै फिल्ममा सहायक निर्देशक बनेर काम गरेको छु।' हिन्दी फिल्ममा नायकको डुप्लिकेट बनेर पनि काम गर्न भ्याए। 'नायकको डुप्लिकेट बनेर पनि धेरै फिल्ममा फाइटका स्टन्टहरू गरियो', निखिलले बिगत सम्झिए।

नेपाली फिल्ममा अवसर र सात तलाबाट जम्प

मुम्बईमा काम गर्दा निखिलको कामलाई पवन मैनालीले देखेका थिए। निखिलको काम अनि उनको शारीरिक बनावटबाट प्रभावित भए पवन। पवन त्यसैबेला नयाँ फिल्म निर्माणको तयारीमा थिए। हिरोको खोजी भइरहेको थियो। निखिलको चाहना पनि बुझे पवनले। अनि अफर गरे, 'निखिल, मैले एक्सन फिल्म निर्माण गर्दै छु। काम गर्छौ त?' निखिलले पनि उक्त प्रस्ताव स्वीकारे। भन्छन्, 'बल्ल मलाई ज्याकी चान जस्तो बन्ने अवसर मिल्यो भनेर फिल्मको अफर स्वीकारेँ।'

निखिलमा नयाँ जोश थियो। फिल्म पाएको खुसी थियो। ज्याकी चान र ब्रुस ली जस्तो बन्ने अवसर पनि। निखिल भन्छन्, 'फिल्म पाएको खुसीमा म जे नि गर्न तयार थिएँ।' नभन्दै निखिलले फिल्ममा सात तलाबाट हामफाल्नुपर्ने भयो। सम्झिन्छन्, 'सात तलाबाट हामफाल्ने कुरामा मलाई अलिकति पनि डर थिएन बरु उत्साहित थिएँ।'

आखिर निखिलले सात तलाबाट हामफाले नै। यो कुराको चर्चा फिल्म नगरीमा राम्रै भयो। दिन दुई गुना रात चौगुना भनेजस्तो निखिलको हाइप बढ्दै गयो। 'मैले सात तलाबाट हाम के फालेको थिए, मेरो चर्चा त यति धेरै भयो कि त्यसपछि त फिल्म क्षेत्रमा फर्केर हेर्नुपर्ने अवस्था नै आएन', निखिल भन्छन्, 'त्यही चर्चाले अहिलेसम्म फिल्म गरिरहेको छु।' 

एक्सन हिरोमा गतिलो छवि

पिँजडामा हामफालेपछि उनलाई धेरै फिल्मको अफर आउन थाले। उनको शारीरिक ढाँचा र उनको जिम्न्यास्टिक, मार्शल, उसुको कारण पनि उनलाई एक्सन फिल्मको अफर आउन थाले। निखिल सम्झिन्छन्, ‘मलाई जति पनि फिल्मको अफर आउँथ्यो, सबै एक्सन फिल्मकै आउँथ्यो। त्यसैले त एक्सन हिरो भएँ।‘

उनले एक्सन स्टन्टकै लागि धेरै जोखिम पनि मोलेका छन्। भन्छन्, ‘मलाई अनुभव गर्नैका लागि भए पनि केही नयाँ गर्नु थियो। त्यसैले पनि फिल्ममा राखिएको कुनै पनि सिन दिन डराउँदिनथेँ। मैलै धेरै फिल्ममा जोखिमपूर्ण स्टन्ट गरेको छु।’

स्टन्टको कुरा गर्दा उनी फिल्म 'पिँजडा’मा सात तलामाथिबाट हामफालेको, ‘धड्कन’का लागि हेलिकोप्टरबाट हामफालेको, ‘मायाको जाल’मा मुग्लिङको पुलमा विना सेफ्टी वारपार गरेको, ‘सन्तान’मा २० फिट अग्लो होर्डिङ बोर्ड फोरेर बाइक अर्कोतिर निकालेको जस्ता घटनाहरूलाई सम्झिन्छन्।

निखिलको टाउकोले चल्थ्यो फिल्म

समय यस्तो पनि थियो कि फिल्मको पोस्टरमा निखिलको फोटो भएपछि उक्त फिल्म हिट हुन्थ्यो। निखिललाई फिल्ममा अभिनय गराउनका लागि निर्माता/निर्देशक वर्षौं कुर्थे। निखिल सम्झिन्छन्, ‘म दिनमा तीनवटासम्म फिल्मको सुटिङ गर्थें।‘

सकेसम्म फिल्ममा मेन रोलमा खेलाउन भएन भने अतिथि भूमिकामा भए पनि निखिललाई खेलाउन हरदिन संघर्षरत हुन्थे निर्माता/निर्देशक। निखिल भन्छन्, ‘पहिला मुख्य भूमिकामा अफर आउँथ्यो अनि मेरो टाइम नभएपछि अतिथि भए पनि गर्दिनुपर्‍यो भन्ने धेरै थिए।‘

निखिलको एउटा पूर्व योजना थियो। सयवटा फिल्म गरेपछि विश्राम लिने। तर फिल्मको संख्या निखिलले सोचको भन्दा बढी भयो। उनी फिल्मबाट विश्राम लिनको लागि पुनः मुम्बई हानिए।

संचितासँगको दोस्रो विवाह अनि ५ वर्षे मुम्बई बसाइ

निखिललाई फिल्मबाट केही समयको लागि विश्राम लिनु थियो। उनले त्यसका लागि नेपाल बसेर सम्भव देखेनन्। कारणमा उनी भन्छन्, 'यदि नेपालमा बसेको भए धेरै फिल्मका अफरहरू लिएर निर्माता/निर्देशकहरू आउनुहुन्थ्यो। फिल्म गरेन भने रिसाउने। त्यसैले पनि कसैलाई नभनी मुम्बई गएँ।'

मुम्बई जाँदा निखिल एक्लै गएनन्। उनले नायिका संचिता लुइँटेलसँग विवाह गरेर संचितालाई पनि लिएर गए। सबैलाई थाहा नै भएको कुरा, निखिलले संचितासँग दोस्रो विवाह गरेका हुन्। निखिललाई संचितासँग विवाह गरेर मुम्बई भागेको भन्ने आरोप धेरेले लगाए। तर उक्त कुरालाई नकार्दै निखिल संचितासँगको विवाह र मुम्बई जानु संयोग मिल्न गएको मात्र बताउँछन्। भन्छन्, 'मलाई मुम्बई त जानु नै थियो। त्यही बेला संचितासँग लभमा थिएँ। विवाह गर्ने भनेपछि उतै जाने सल्लाह गर्‍यौँ र गयौँ।'

निखिलले मुम्बईमा बस्दा धेरै पुस्तकहरू पढे। उनी धार्मिक पुस्तकहरू बढी रुचि राखेर पढ्थे। निखिल भन्छन्, 'मैले मुम्बईमा बस्दा करिव सात सय पुस्तक पढेँ।' उनी मुम्बईमा बस्दा ध्यान पनि गर्थे। बाबाजी र गुरुहरूकहाँ धाउने गर्थे। निखिललाई उक्त कुराले सन्तुष्टि दिन्थ्यो। भन्छन्, 'हरेक बिहान म ध्यान गर्थें। मैले सधैँ एकै समयबाट ध्यान सुरु गर्थें। गुरुकहाँ जाँदा पनि सब छक्क पर्थे मेरो टाइमिङ देखेर।' नेपालमा बसेको भए त्यो सम्भव नहुने बताउँदै निखिल भन्छन्, 'मुम्बई गएर मैले धेरै कुराहरू सिक्ने अवसर पाएको छु।'

५ वर्षपछि नेपाल अनि फिल्म निर्देशन

निखिललाई नेपाल त आउनु नै थियो। कारण, उनमा नेपाली फिल्मप्रति माया थियो। उनले फिल्मभन्दा अरू कुरामा काम गर्न सक्छु भन्ने थिएन। उनलाई केवल फिल्ममा काम गर्नु थियो। भन्छन्, 'मैले जानेको र गर्ने भनेको फिल्मकै काम थियो।' निखिल बलिउडमा पनि काम गरेको भए गर्नसक्ने दाबी गर्दै भन्छन्, 'मलाई नेपाली फिल्मप्रति माया थियो, त्यसैले नेपाल आएर फिल्ममा काम गरेँ।'

निखिल नेपाल फर्किएपछि पनि फिल्म क्षेत्रमै सक्रिय रहे। उनले नेपाल आएर फिल्म 'भैरव' निर्माण तथा निर्देशन गरे। 'भैरव'मा निखिल आफैँ मुख्य भूमिकामा प्रस्तुत थिए। निखिलले निर्देशन गरेको पहिलो फिल्म थियो, 'भैरव'। फिल्म निर्देशन पढेका निखिल भन्छन्, 'बल्ल मैले पढेको कुरालाई प्रयोग गर्न पाएँ।'

फिल्म सफल भइदियो। निखिलको कमब्याक र निर्देशकीय फिल्मलाई दर्शकले मनपराइदिए। भन्छन्, 'मेरो निर्देशनमा बनेको पहिलो फिल्मलाई नै मनपराइदिनुभयो। दर्शकप्रति आभारी छु।'

ब्याक टु ब्याक फिल्म

निखिल अहिले पनि फिल्म क्षेत्रमा नै सक्रिय छन्। कमब्याक फिल्मले सफलता पाएसँगै निखिललाई धेरै फिल्मका अफर आए। 'भैरव'पश्चात उनले अभिनय गरेका 'लुटेरा', 'किङ', 'संरक्षण', 'निर्भय', 'राधे', 'रुद्र' प्रदर्शन भइसकेका छन्। त्यसमा कुनै फिल्मले लगानी बचाए भने कुनै फिल्म असफल पनि भए। 'रुद्र' निखिल आफैँले निर्माण गरेको फिल्म हो।

उनी अभिनित फिल्म 'पिँजडा ब्याक अगेन' यसै शुक्रबारबाट प्रदर्शनमा आउँदै छ भने उनी फिल्म 'कमिटमेन्ट सिक्स्टी आवर्स'को छायांकनमा पनि लागिरहेका छन्। यस फिल्मलाई निखिल आफैँले निर्माण तथा निर्देशन गर्दै छन्।

अब भने निखिल फिल्म अभिनयलाई कम गर्ने योजनामा रहेको बताउँछन्। भन्छन्, 'अब भने फिल्म अभिनयलाई कम गर्छु बरु निर्माण तथा निर्देशनतिर मेरो फोकस बढी हुनेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.