|

गोरखा : शरीरको सबै भागमा मासु पलाएको छ। आफूलाई हेर्दा, हिँडडुल गर्दा आफैँलाई दिक्क लाग्छ उनलाई। आफुलाई देखेर अरूले फर्कीफर्की कुरा काट्दै नहेरून्, बालबालिका नडराऊन्, कसैले छिछि दूरदूर नगरून् भन्ने उनलाई लागेको छ। तर वर्षाैंदेखि जे नपरोस् भन्ने उनी चाहन्छन्, त्यही भोग्दै आइरहेका छन्। 

गोरखा देउरालीका भगवान शाह। आफ्नो शरीरमा पलाएको मासु देखेर आफ्ना साथीहरूले समेत घीन मानेपछि २० वर्षअघि स्कुल पढ्दापढ्दै कक्षा सातबाट आफ्नो पढाइको यात्रालाई उनले टुंग्याउनुपर्‍यो। ‘साथीहरू मलाई देखेर परपर भागेको, घीन मानेको सहनै सकिनँ, स्कुल जानै छाडेँ। सँगै पढेका साथीहरू अहिले कहाँकहाँ पुगिसके’, उनले गुनासो गरे। 

उनको शिरदेखि पैतालासम्म जताततै मासुको पोको, डल्लो छ। मकैको दानादेखि अण्डा वा आलु जत्रा मासुका थैला सुत्दा बस्दा पोको पेलिएर असह्य दुख्छ। सुत्न बस्न नमिलेर छट्पटिई छटपटिई रात काट्दाको सकस बयान गरी साध्य नभएको उनी बताउँछन्। त्यसभन्दा बढी पीडा त भोलिपल्ट स्कुलमा आफूसँग डराएर सँगैका साथी भाग्दा उनलाई हुन्थ्यो।

राती यो सम्झीसम्झी बुबाआमासँग रुने गर्थे भगवान। अहिले पनि खैरेनी बजार, गोरखा बजार जाँदा सडकमा मान्छे उनलाई देखेर तर्सन्छन्, कोही दुर्वचन बोल्छन्, बालबालिका डराएर भाग्छन्। बस चढ्दा उनी सिटमा बसे भने सँगै बसिरहेको यात्रु सिट छोडेर उभिएको घटना त कति छन् कति। यो सम्झेर अहिले पनि उनी राती घरमा रुन्छन्। पहिले र अहिलेको रुवाइमा फरक यत्ति छ, पहिले बुबाआमासँग रुन्थे, अहिले एक्लै। 

३८ वर्षका भगवानको पीडा साटासाट गर्ने, दुखेसो पोख्ने कोही छैनन्। ‘मेरो पीडा बुझ्ने यो संसारमा कोही छैनन्’, उनी भन्छन् ‘बुबाआमा बितेपछि त म यो संसारमा एक्लो छु। दाइको परिवार काठमाडौँ जानुभयो। दिदीको विहे भएर गएपछि त म एक्लो छु।’ भगवानलाई विहे गर्ने रहर पनि नभएको होइन। ‘म जस्तोसँग विहे गर्न को मान्छ र!’, उनी भन्छन्। शरीरको कुनै पनि ठाउँ मासुको डल्लो नभएको छैन उनको। 

‘पुठ्ठाको ठूलो डल्लो त म बस्दा, सुत्दा पेलिएर फुट्यो। पाकेछ, रगत आइरह्यो अनि भएको एउटा खेत पनि बन्धकी राखेर अप्रेसन गरेँ। ६० हजार खर्च भयो। एउटा पोको फाल्न त त्यत्रो खर्च भयो’, उनी भन्छन्, ‘ज्यानभरिको फाल्न कति लाग्ला? बरु अहिलेसम्म सहन सक्छु र बाँच्छु भनेर यसै दिन काटिरहेको छु?’ हत्केलामा मासु पलाएर राम्ररी समात्न र पैतालामा मासु पलाएर राम्ररी हिँड्न मिल्दैन उनलाई।

आँखाको तलमाथि नै मासु पलाएर अहिले थप समस्या भएको उनी बताउँछन्। ‘आँखाको तलमाथि नै मासु पलाउन थालेर अहिले हेर्न पनि समस्या हुन थालेको छ’, उनी भन्छन्। 

भगवान शाहलाई स्थानीयवासीले माया गरेर राजदेवी प्राविमा परिचरको जागिर दिएका छन्। त्यहाँबाट चार हजार ५०० रुपैयाँ तलब आउँछ। ‘त्यही पैँतालीस सय रुपैयाँ हो यिनको बाँच्ने आधार’, छिमेकी सीता आचार्य भन्छिन्, ‘ज्यानभरि फोकैफोका छ, पानी बोक्न पनि सक्दैन, आगो फुक्न पनि सक्दैन। हेरिरहन सक्दिनँ। मैले कतिचोटि सघाइदिएकी छु। माया लाग्छ तर के गर्नु सधैँ पाल्न सक्दिनँ।’

अर्का छिमेकी रामजी कैनीका अनुसार भगवान सानो छँदा सग्ला र सुन्दर थिए। ‘कस्तो राम्रो सर्लक्क, अग्लो, सल्खाइलो ज्यान थियो यसको’, उनी सम्झन्छन्, ‘तर पछि के भयो के भयो। जँचाउन लगेको पनि हो। रगत बिग्रिएर हो भन्यो डाक्टरले। अप्रेसन गरेर सबै छाला फेर्न पनि महँगो पर्ने होला।’ 

उनको शरीरमा भएको मासुको पोका पेल्लिएर घाउ भएका छन्। उनी काम नगरी उनको खाने जोहो पनि हुँदैन। त्यही घाउमा पसिना छिरेर नुनचुक हालेको जस्तो भएको उनी बताउँछन्।  

६० हजार रुपैयाँ तिर्न नसकेर बन्धकी दिएको एउटा खेत पनि उकास्न नसकेको उनी बताउँछन्। ‘जेथा भनेकै यही घर हो, त्यही पनि दाइले बैंकमा राखिदिनुभएको छ। एउटा खेत थियो त्यो पनि बन्धकीमा छ। भूकम्पले भत्काएको घर कसरी बनाउने हो?’, उनी भन्छन्, ‘ज्यान यस्तो छ, औषधि उपचार गर्न पाए अर्को जुनी पाएको जस्तो हुन्थ्यो होला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.