६ उम्मेदवारले विवरण नै बुझाएनन्

|

गोरखा : गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्नो चुनावी खर्च विवरण पेस गरेका छन्। मंसिर १० गते सम्पन्न चुनावमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग चुनाव हारेका श्रेष्ठले

१७ लाख २९ हजार ९ सय २५ रुपैयाँ चुनावी खर्च भएको विवरण आफ्ना प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय गोरखामा बुझाएका हुन्। उनले आयोगले तोकेको खर्च विवरण पेस गर्ने मिति एक दिन बाँकी रहँदा २७ पुसमा यस्तो विवरण पेस गरेका हुन्।

बाबुराम भट्टराईले भने पहिले नै आफ्नो खर्च विवरण पेस गरिसकेका छन्। उनले २४ लाख रुपैयाँभन्दा धेरै रकम खर्च गरेको विवरण बुझाएका थिए।

नारायणकाजीले नामावली खरिदमा २ हजार ९ सय २५ रुपैयाँ, सवारीसाधनमा ४ लाख ५० हजार, सवारी इन्धनमा एक लाख, प्रचारप्रसार सामाग्रीमा ९८ हजार, ढुवानीमा ३५ हजार, गोष्ठी र कार्यकर्ता परिचालनमा

५ लाख ७५ हजार, विभिन्न सञ्चार माध्यममा प्रचारमा ९२ हजार, कार्यालय सञ्चालनमा एक लाख २५ हजार, प्रतिनिधि परिचालनमा १ लाख ४० हजार र विविधमा १ लाख १२ हजार रुपैयाँ खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कमलापति अधिकारीले जानकारी दिए।

यी हुन् अझै खर्च विवरण नबुझाउने उम्मेदवार

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणामा घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने भए पनि गोरखाका ६ उम्मेदवारले अझै खर्च विवरण नबुझाएका हुन्। गोरखाका जम्मा ३६ उम्मेदवारमध्ये ३० उम्मेदवारले समयसीमा भित्रै विवरण बुझाएको अधिकारीले जानकारी दिए।

विवरण बुझाउन बाँकी रहेकोमा संघीय समाजवादी फोरम नेपालकै ४ जना उम्मेदवार रहेका छन्। प्रतिनिधिसभा निर्वाचन  क्षेत्र नं. १ का उम्मेदवार दीपेन्द्र गुरुङ, क्षेत्र नं. १ को क प्रदेशकी उम्मेदवार गोमा देवी कार्की, निर्वाचन क्षेत्र नं. २ को ‘क’ प्रदेशका होमबहादुर तामाङ र २ को

‘ख’ प्रदेशका उम्मेदवार दिलीप श्रेष्ठले खर्च विवरण नबुझाएका हुन्।  त्यस्तै, निर्वाचन २ को ‘क’ प्रदेशका  एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार शेनबहादुर सुनार र संघीय समाजवादी पार्टी नेपालका  कृष्ण गोपाल बञ्जराले खर्च विवरण नबुझाएका हुन्।

समयमा खर्च  विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगको निर्देशनअनुसार कामकारबाही अघि बढाइने निर्वाचन कार्यालयले गोरखाले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.