|

काठमाडौं : वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएका नेकपा  एमाले र माओवादी केन्द्रबीच राष्ट्रियसभाको सिट बाँडफाँटमा सहमति जुटेको छ।

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले गठन गरेको कार्यदलले सिट बाँडफाँटबारे सहमति जुटाएको हो। राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठन र संसदमा भूमिकाबारे सहमति जुटाउन बनेको कार्यदलले बुधबार राष्ट्रियसभामा दुई पार्टीले पाउने सिट बाँडफाँटमा सहमति जुटाएका हुन्। 

कार्यदलमा भएको सहमतिअनुसार राष्ट्रियसभाका लागि निर्वाचन हुने ५६ सिट मध्ये वाम गठबन्धनबाट ४३ सिटमा उम्मेदवारी दिने सहमति भएको छ। जसमा २९ सिट एमालेलाई र १४ सिट माओवादीले लिने भएको छ। बाँकी रहेका १३ सिटमा अन्य दलसँग सहकार्य गर्ने निर्णय भएको छ। 

कार्यदलमा जुटेको सहमतिलाई दुई दलका अध्यक्षहरुले अनुमोदन गरेपछि कार्यान्वयनमा लगिने एमाले नेता सुवास नेम्वाङले बताए। यो सहमति अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंककबाट स्वदेश फिर्ता भएपछि अनुमोदन हुनेछ।

कार्यदलको अब बस्ने बैठकले प्रदेश सरकार र प्रदेश संसदमा दुई दलको भूमिका अर्थात् जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्ने बताइएको छ। 

कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.