|

इलाम : सूर्योदय र चिया पर्यटनका लागि प्रसिद्ध इलाम जिल्लामा अनेकौँ पर्यटकीय गन्तव्यहरू रहेका छन्। तीमध्ये एक हो, माईपोखरी।

सदरमुकाम इलाम बजारबाट १८ किलोमिटर उत्तरमा रहेको माईपोखरी धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा परिचित छ। सन् २००८ अक्टोबर २८ मा विश्व रामसार सूचीअन्तर्गत नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणापछि यहाँ पर्यटक एवम् दर्शनार्थीको चाप बढ्दै गएको छ। नौवटा कुनामा पैmलिएको माईपोखरीलाई प्रकृतिको सुन्दर सिर्जनाका रूपमा लिइने गरिन्छ। माई अर्थात् आमा र पोखरी अर्थात् तलाउबाट यसको नाम माईपोखरी रहेको भन्ने विश्वास गरिन्छ।

बलिप्रथा निषेध रहेको यस क्षेत्रलाई साक्षात् देवीको रूपमा पूजा गरिँदै आएको छ। यस क्षेत्रमा मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ। 

टंक सुवेदीको ‘माईपोखरीको इतिवृत्त’ नामक पुस्तकमा मरुत राजाले यस ठाउँमा आएर नौवटा कुनामा नौवटै मन्दिर बनाई नवदुर्गाको पूजा गरी उक्त पूजा विसर्जनपश्चात पूजा स्थान सुरक्षित होस् भनी गंगाजीको आराधना गर्दा जल उत्पन्न भएको जनश्रुति रहेको छ।

कुनै समयमा पोखरी वरिपरिका रूख बिरुवाबाट पोखरीमा खसेका पातपतिंगरहरू चराचुरुंगीहरूले टिपेर बाहिर फ्याँक्ने तथा पोखरीमा पञ्चेबाजा, शंखघण्ट बज्ने गरेको र हाल पनि पोखरीबाट अकस्मात अनौठो ज्योति निस्कने र तुरुन्तै लोप हुने गरेको स्थानीय किरण राई बताउँछन्। 

द्वापर युगको अन्त्यमा पाँच पाण्डवहरू वनवासमा रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको भन्ने भनाइ छ। यसैगरी राजा मारुतका साथमा उनकी ‘इला’ नाम गरेकी छोरी पनि आएकी थिइन् र उनै ‘इला’बाट यस जिल्लाको नाम नै इलाम रहन गएको हो भन्ने जनश्रुतिसमेत रहेको छ।

माईपोखरीलाई हिन्दू, बौद्ध र किराँत मुन्धुम धर्मको आस्थाका रूपमा लिइन्छ। माईपोखरी परिसरमा सत्यधुनी आश्रम, निर्मला माई आश्रम, टाँसी छोलिङ गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेका छन्। बैशाखे पूर्णिमा र ठूली एकादशीका दिन माईपोखरीमा विशेष पूजा अर्चना र मेला लाग्ने प्रचलन छ। सबै धर्म संस्कृतिको संगम रहेको माईपोखरीले सिंगो इलामको सांस्कृतिक सभ्यतालाई प्रतिविम्बित गर्ने कुरा इतिहासविद् युद्धप्रसाद वैद्य बताउँछन्।

माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्त्वपूर्ण रहेको छ। यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, कटुस, लौठसल्ला, भद्रासे, सल्ला, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडिबुटीसहित ३०० प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्यूलगायतका वनस्पति पाइन्छन्। लोपोन्मुख पानी गोहोरो, लोखर्के, ओत, भ्यागुता, पाहा, चमेरो, मृग, सर्पलगायत १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० भन्दा बढी प्रजातिका चराचुरुंगीहरू रहेका छन्।

माईपोखरीमा खासगरी तीन थरीका पर्यटकहरू आउने गर्दछन्। पहिलो धार्मिक आस्थाका आधारमा आउने, दोस्रो यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न आउने र तेस्रो यहाँको सामाजिक, आर्थिक, साँस्कृतिक तथा वातावरणीय पक्षको अध्ययन, अनुसन्धान, संरक्षण र विकासमा लागिपर्ने मानिसहरू रहेका छन्। 

इलामको उत्तरी क्षेत्र प्रवेशका लागि एउटा सजिलो मार्ग भएका कारणसमेत यस क्षेत्रमा पर्यटकहरू धेरै संख्यामा वर्षैभरि आउने गर्दछन्। यातायातको सुविधाले समेत यस क्षेत्रमा आउनेजाने पर्यटकहरूलाई सजिलो भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.