|
फाइल फोटो

काठमाडौं : बुधबार नेपाल सरकारले तोकेको प्रदेशहरूको अस्थायी राजधानीप्रति माअोवादी नेता तथा दाङ क्षेत्र नं.- २ बाट प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले असन्तुष्टि जनाएका छन्।

देशका विभिन्न भागहरूमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमको सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रूपमा तोक्न नसक्नु सरकारको अक्षमता पुष्टि भएको भन्दै महराले विज्ञप्तिमार्फत भनेका छन्, 'प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुनपुगेको छ।'

उनले यसलाई 'असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र अक्षम निर्णय' भन्दै यो निर्णयको विरोध र घोर भर्त्सना गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, 'यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरूको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ।'

५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुलित हुनुपर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको दृढतापूर्वक समर्थन गरेको भन्दै महराले भनेका छन्, 'सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध गर्दछु।'

बुधबारको मन्त्रिपरिषद् बैठकले ५ नम्बर प्रदेशको अस्थायी राजधानी रूपन्देही तोकेको छ। दाङवासी तथा दाङका राजनीतिक नेताहरूले भने दाङलाई प्रदेश राजधानी ताेक्नुपर्ने बताउँदै आएका थिए।

हेर्नुहोस् विज्ञप्ति :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.