|

हेटौंडा : हेटौंडा एकेडेमीले महानायक राजेश हमालसहितलाई सम्मान गर्दै आफ्नो २०औं वार्षिकोत्सव बुधबार मनाएको छ।

मकवानपुरका प्रदेशसभा सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रका नेतृत्वकर्ता, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका संरक्षक एवं मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले उत्कृष्ट विद्यालयको रुपमा परिचित एकेडेमीको उचाई बढाउन थप प्रतिवद्ध भएर अघि बढ्न व्यवस्थापनलाई सुझाव दिए।

उनले सकारात्मक विषयलाई जीवनमा लागू गर्दै आगामी पुस्तालाई पनि अनुसरण गर्ने अवस्था सिर्जना गर्नु जरुरी रहेको बताए। 

प्रदेश सांसद पौडेलले आफूले २० वर्षअघि स्थापना गरेको विद्यलयले सफलताको फड्को मारेकोमा खुसी व्यक्त गरे। उनले गुणस्तरीय शिक्षाको पर्याय हेटौंडा एकेडेमी बनेको बताए। 

अभिभावक भेलाकै अवसर पारेर विद्यालयले  विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ जनालाई सम्मान समेत गरेको थियो। त्यसैक्रममा महानायक राजेश हमाललाई सम्मानित गरिएको हो।

त्यस्तै शिक्षा एवं पर्यटन क्षेत्रमा योगदान पुर्‍याएकोमा विद्यालयका संस्थापक अध्यक्षसमेत रहेका प्रदेश सांसद डोरमणि पौडेल, शिक्षा एवं धार्मिक क्षेत्रमा योगदान पुर्‍याउने बद्रीनाथ शर्मा, साहित्यकार तुल्सी थापा र कलाकार विष्णु सापकोटा (हर्के हल्दार)लाई सम्मान गरिएको थियो। 

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक तथा अन्य रचनात्मक प्रस्तुति पस्किएका थिए।

फोटो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.