|

टोकियो (जापान): जापानमा सडक दुर्घटनामा एक नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्। 

बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ,भने उनीसँगै  गम्भीर घाइते भएका नेपालीकाे विवरण थाहा हुन सकेको छैन। घटना मंगलबार मध्यरात भएको भए पनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो।

दुई वर्षअघि रोजगारीका लागि जापान आएका सापकोटा र घाइते दुवैजना कुक भिसामा थिए। सापकोटा खानाजावा शहरको एक नेपाली रेस्टुरेन्टमा काम गरेर घर फर्कंदै थिए। घाइते सापकोटाको आफन्त रहेको प्रहरीले जनाएको छ। 

टोकियोबाट दक्षिणपश्चिममा पर्ने इसिखावा प्रान्तको नोमी शहरस्थित राइमारु नगरको चुस्यो सडकमा तीव्र गतिमा गुडेकोे नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिएको थियो। 

दुई जनाले एउटा साइकल प्रयोग गर्न नपाइने जापानको नियमअनुसार सापकोटाले साइकल डोर्‍याएर कामबाट कोमाचुस्थित घर जाँदै गर्दा सडक दुर्घटनामा परेको इसिखावाको प्रान्तीय प्रहरीले जानकारी गराएको छ। दुर्घटनालगत्तै उपचारार्थ स्थानीय हान्सोसाकी अस्पतालले सापकोटाको मृत्यु भएको घोषणा गरेको थियो। 

बाक्लो हिमपातका कारण सडकमा हिउँ जमेकाले सहजताका लागि घुमेर राजमार्ग हुँदै घर जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.