|

दमक(झापा) : गत साउनको अन्तिम साता आएको बाढीले झापाको कमल गाउँपालिकाका ३९ परिवारको उठिबास लाग्यो। तीमध्ये वडा नम्बर.१ का २३ र २ का १६ परिवार थिए। विस्थापितमध्ये सबै जसो सुकुमवासी हुन्। खोला किनारामा रहेका झुपडी पनि खोलामा बिलाएपछि उनीहरूलाई तङ्ग्रिन अझै कठिन भइरहेको छ।

तर आय आर्जनको अरु कुनै विकल्प नभएपछि उनीलाई गरि खान त्यही उठिबास लगाउने खोलाको भर पर्नु परेको छ। विस्थापित भएका वडा नं. २ को सुकुमवासी बस्तीका बिस्थापितहरूले अहिले कमल खोलाको बजगरमा सामूहिक खरबुजा खेती सुरु गरेका छन्। गाउँपालिकाको सहयोगमा कमल खोलाका कारण विस्थापित भएकाहरूले सोही खोलाको किनारामा खरबुजा रोपेका हुन्। बगरको करिव ९ बिगाहा क्षेत्रफलमा खरबुजा खेती गरिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख खिरबहादुर श्रेष्ठले जानकारी दिए।

त्यसका लागि गाउँपालिकाको तर्फबाट १ लाख २० हजार रुपैयाँको लागतमा बीउ खरिद गरिएको हो। यस्तै, सिँचाइका लागि तीन ओटा पम्पिङ् सेटसमेत जडान गर्ने तयारी रहेको उनले बताए। ‘बाढी पीडितहरूका लागि केन्द्रीय राहतबाट प्राप्त हुने सहयोगले तीन ओटा पम्पिङ्सेट मेसिन ल्याउने तयारी गरेका छौँ’ , उनले भने, ‘खरबुजा खेतीका लागि सिँचाइ पनि आवश्यक हुन्छ। तर यहाँ अरु सुविधा नभएकाले मेसिननै जडान गर्नुपर्ने भयो।’ ३० हजार रुपैयाँ दरका तीन ओटा मेसिन ल्याउन लागिएको भन्दै उनले जडानमासमेत अरु थप खर्च हुने बताए।

घर बनाउन सामूहिक प्रयास

विस्थापीत बस्ती पुनर्निर्माणका लागि उनीहरूले नै समिति बनाएर संयुक्त रूपमा लागि परेका छन्। विस्थापित बस्ती पुनर्निर्माण समितिका संयोजक प्रताप सुब्बाले गाउँपालिकाको समन्वयनमा विभिन्न दाताहरूको सहयोगमा घर पुनर्निर्माणको काम भइरहेको जनाए।

‘खोलाले उठिबास लगाएका १२ सुकुमवासी परिवारको बसोबासका लागि विभिन्न दाताहरूको सहयोगका काम भइरहेको छ’, उनले भने, ‘हाम्रो त भएको जति त्यहि झुप्रोमा थियो। सबै बगिहाल्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.