|

बैतडी : बैतडीमा निर्माणधिन अवस्थामा रहेका पाटन–नयाँ शहर बृहत खानेपानी आयोजना, श्रीकोट, सलेना खानेपानी आयोजनालगायत ठूला आयोजनाको कामले गति लिन सकेको छैन्। काम सुरु भएको लामो समय वितिसक्दा पनि निर्माण सम्पन्न नुहँदा स्थानीयले खानेपानी अभाव झेल्दै आएका छन्। उपभोक्ता समिति र निर्माण कम्पनीले समयमै काम नगर्दा अधिकाशं खानेपानी आयोजना अलपत्र परेको स्थानीयको आरोप छ।

बैतडी साना शहरी खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको पाँच बर्ष भयो। तर, डेढ वर्षमा सकिनुपर्ने आयोजनाको काम हालसम्म सम्पन्न हुनसकेको छैन्। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार १४ करोड लागतमा हालसम्म ९९ प्रतिशत काम पुरा भएको छ। यी बाहेक एक सयको हाराहारीमा रहेका विभिन्न ग्रामिण खानेपानी आयोजना बर्षौदेखि अलपत्र छन्।

संघीय संरचनामा केही विकट बस्तीहरु पनि नगरपालिकाभित्र परेका छन्। जहाँ खानेपानीदेखि विभिन्न भौतिक पूर्वाधारको अभाव छ। कतिपय बस्ती त खानेपानी अभावकै कारण विस्थापित हुने अवस्थामा छन्।

आयोजना छ प्रगति छैन

चालु आर्थिक वर्षको ६ महिनामा बैतडीका विभिन्न ठाउँमा निर्माणधिन खानेपानी आयोजनाको भौतिक प्रगति निराशाजनक देखिएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालयल उच्च प्रविधियुक्त केन्द्रीय खानेपानी कार्यक्रम अन्तर्गत निर्माणधिन ७२ वटा मध्यमस्तरका खानेपानी आयोजनाको निर्माण कार्य सुस्त छ।

निर्माणाधिन आयोजनाको औसत खर्च ११ प्रतिशत मात्रै भएको छ। ७२ वटा खानेपानी आयोजनाको निर्माण, सर्वेक्षण र सम्पन्न आयोजनाको मर्मतसुधारमा ५४ करोड १३ लाख २० हजार रुपैयाँ वार्षिक बजेटमध्ये चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १८ करोड बजेट विनियोजन भएको छ। तर, १ करोड २७ लाख ४० हजार बजेट मात्र खर्च भएको छ्।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले भने खर्च प्रतिशत न्यून देखिएपनि भौतिक निर्माणका काम बढी नै भएको दाबी गरेको छ ।  कार्यालयका सूचना अधिकारी ईन्जिनियर सुनिल तिवारीले भन्छन्, ‘एघार प्रतिशत खर्च भुक्तानी भएपनि निर्माण कार्य बढी नै छ। काम गरिसकेपछि मात्र खर्च भुक्तानी गर्ने प्रणाली लागु भएकाले भौतिक निर्माण बढी हुदाँ पनि खर्च ११ प्रतिशत मात्रै देखिएको हो।’

निर्वाचनले अपेक्षित काम हुन नसकेको उनको तर्क छ। ७२ वटा क्रमागत आयोजनामध्ये केही चालु आर्थिक वर्षमा सम्पन्न हुने जनाईएको छ । खानेपानीका १९ स्कीम भने सम्पन्न भएको कार्यालयले जनाएको छ । केही खानेपानी आयोजनाको भने सौम्झौतासमेत हुन बाँकी छ। 

विभागको परिपत्रले अलमल

स्थानीय तहमा गएका खानेपानी आयोजनाहरु भने बजेट अभावमा समस्यामा परेका छन् । खानेपानी तथा ढल निकास विभागले एक सय बढी साना आयोजना स्थानीय तहले कार्यन्वयन गर्ने परिपत्र गरेपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई बजेट आएको छैन।

साना खानेपानी आयोजनाका लागि स्थानीय तह र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा बजेट नआएपछि आन्यौल सिर्जना भएको छ। ‘यी क्रमागत खानेपानी योजनाका लागि स्थानीय तह र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा बजेट आएको छैन। यी आयोजना कसले कार्यान्वयन गर्ने हो भन्नेमा अलमल छ।’ इन्जीनियर तिवारीले भने।  a

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.