|

सुर्खेत : लामो समयको अन्योलका बीच सरकारले बुधबार मात्रै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख एकै पटक तोक्यो।

बुधबार बसेको मन्त्रिपरिष्दको बैठकले भागवण्डाका आधारमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी एकै पटक तोकेको हो। सरकारले प्रदेश नम्बर- ६ मा प्रदेश प्रमुखका रूपमा तोकेका व्यक्ति हुन्, दुर्गाकेशर खनाल। खनाल सुर्खेतका पुराना राजनीतिज्ञ, पूर्व शिक्षक र पूर्व राष्ट्रियसभा सदस्य हुन्।

उनी राजनीतिमा प्रवेश गर्नुभन्दा पहिले शिक्षण पेसामा संलग्न थिए। पञ्चायतकालमा कांग्रेसको राजनीतिमा होमिएका खनाल बहुदल आएपछि कांग्रेसबाट राष्ट्रियसभा सदस्यसमेत बने। विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनसँगै खनालको परिचय पनि परिवर्तन हुँदै गयो। सुर्खेत सदरमुकाम वीरेन्द्रनगरका स्थायी बासिन्दा खनाल पञ्चायतकाल देखि नै नेपाली कांग्रेसमा सक्रिय थिए।

खनालको परिचय नेपाली कांग्रेस सुर्खेतको स्थापनासँग जोडिएर आउँछ। खनाल कांग्रेसका पुराना नेता र सुर्खेतका बुद्धिजीवीमा गनिन्छन्। खनाल नेपाली कांग्रेस सुर्खेतका संस्थापक नेतासमेत हुन्।

वि. सं. २०२८ मा नेपाली कांग्रेस सुर्खेतको कार्यसमिति सदस्यबाट नेपाली कांग्रेसको राजनीतिमा होमिएका खनाल वि. सं. २०३६ मा पार्टीको जिल्ला सभापति भएका थिए। खनालले प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा पटक पटक जेल सजायसमेत भोगेका छन्। खनाल नेपाली कांग्रेसको महासमिति सदस्यसमेत बनेका थिए।

यस्तै, वि. सं. २०४८ मा राष्ट्रियसभा सदस्य बनेका खनाल कांग्रेसका संस्थापक सभापति विपी कोइरालासँग निकट मानिन्थे। उनी  विद्यार्थी राजनीतिका क्रममा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवासँग पनि निकट थिए।

पिता चन्द्रकेशर खनाल र माता भगीरथी खनालको कोखबाट वि. सं. २००३ मा खनालको जन्म भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विधालयबाट कक्षा ५ सम्मको अध्ययन गरी उनले काठमाडौंबाट एसएलसी पास गरेका थिए।

संघीयता कार्यान्वयनसँगै पहिलो पटक भएको प्रदेश संरचनामा प्रदेश प्रमुख बनेका खनालले मानविकी संकाय र शिक्षाशास्त्र संकायमा स्नातक गर्दैगर्दा राजनीतिक यात्रा तय गरेका थिए। उनी नेपाली लोकतान्त्रिक आन्दोलनका अविचलित सशक्त योद्धाका रूपमा चिनिन्छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.