|

  • ईश्वर थापा-

धनकुटा : धनकुटालाई प्रदेश नम्बर– १ को अस्थायी राजधानी नतोकेको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भएपछि बिहीबार बिहानैदेखि धनकुटा तनावग्रस्त भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। 

बिहीबार मध्याह्नबाट धनकुटा बजार क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।

उनका अनुसार पूर्वमा बिहीबारे हाट, पश्चिममा नगरपालिकाको ढाट, उत्तरमा लोकसेवा क्षेत्रीय कार्यालय, दक्षिणमा चिरबिरे चौताराबीचको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको हो। अटेर निषेधाज्ञा उल्लंघन गरेमा प्रहरीले गोली हान्न सक्ने प्रमुख जिल्ला अधिकारी उप्रेतीले बताए।

बिहीबार बिहान स्थानीय सरस्वती चोक र मदनचोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चोकमा सशस्त्र प्रहरी र बन्दकर्ताबीच झडप भएको हो। सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि अश्रुग्यास प्रहार गर्दै लाठीचार्ज गरेको थियो। 

आक्रोशित प्रदर्शनकारीले मदन चोकमा प्रहरी प्रमुख सवार गाडी तोडफोड गरेका छन्। प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राजभण्डारी सवार ना१झ १३१४ नम्बरको गाडी तोडफोड गरिएको हो। सोही क्रममा दोहोरो झडप भएको थियो। 

यसैबीच बन्दकर्ताले धनकुटामा बिहीबार बिहान तीनवटा मोटरसाइकल तोडफोड गरेका छन्। आन्दोलनकारीले स्थानीय सरस्वती चोकमा को२९प ३७५४ र को३२प ४४०० नम्बर तथा यलम्बर चोकमा को१८प ७३९३ नम्बरको मोटरसाइकल तोडफोड गरेका प्रहरीले बताएको छ। हजारौँको संख्यामा प्रदर्शनमा निस्किएका धनकुटावासीले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन्। बन्दकर्ताहरूले लाठी, मुंग्रासहित सडकमा प्रदर्शन जारी राखेका छन्। आन्दोलन आक्रामक बन्दै गएपछि बजारमा सयौँको संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ।

यसैबीच धनकुटालाई अस्थायी राजधानी नतोकेको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले बिहीबार दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन्। क्षेत्रीय प्रशासन कार्यालय र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै पुगेका प्रदर्शनकारीले सरकारी कार्यालयमा आगो लगाएर प्रदर्शन गरेका हुन्। बिहान प्रहरीले प्रदर्शनकारीलाई लाठी चार्ज गरेपछि उनीहरू थप आक्रोशित बनेका छन्। 

सरकारले विराटनगरलाई अस्थायी राजधानी तोकेपछि हिजो साँझ प्रधानमन्त्री देउवाको पुत्ला दहन गरिएको थियो। राती मशाल जुलुस निकालेर सरकारविरुद्ध प्रदर्शन गरेका धनकुटावासीले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रदेश राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटावासीले अनिश्चितकालीन आमहडताल जारी राखेका हुन्। आमहडतालका कारण बिहीबार बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित भएको छ।

राणाकालमा प्रशासनिक गौँडा हुँदै पछि आएर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशको केन्द्र भाग, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था, सामथ्र्य, पहिचान रहेको धनकुटालाई छाडेर अन्यत्र प्रदेश राजधानी स्वीकार नगरिने अडान राख्दै आएका जिल्लावासीले धनकुटालाई प्रदेश राजधानी घोषणाका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.