|

काठमाडौं : प्रदेश प्रमुख र राजधानीबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्।

बैंककमा उपचार गराएर स्वदेश फर्किएपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले बुधबार सरकारले तोकेको प्रदेश प्रमुख र राजधानीबारे असन्तुष्टि जनाएका हुन्। उनले भने, 'जुनजुन व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ, उनीहरूका बारेमा भोलि गएर हेर्नुपर्छ, सरकारले गरेका यी निर्णयहरूमा सहमति छैन।'

अध्यक्ष ओलीले सरकारलाई संविधानले दिएको जिम्मेवारीअनुसार काम गरेको बताउँदै प्रदेश प्रमुख नियुक्त र राजधानी तोक्ने काम ढिलो भएको बताए।

ओलीले सुरुमा राष्ट्रियसभा निर्वाचनको अध्यादेशमा एमालेको असहमति रहेको तर प्रदेश राजधानी र प्रमुख तोक्नेबारे कुनै सहमति नरहेको बताए। उनले भने, 'सरकारले अध्यादेश ल्याउन बलजफ्ती गरेमा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट शपथ नलिन सक्छौँ भनेका हौँ।'

ओलीले अहिलेको सरकारले संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुख र राजधानी तोकेको र भविष्यमा प्रदेश सरकारले यसलाई फेर्न सक्ने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र राजधानीबारेमा सहमतिका लागि प्रमुख पार्टीहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा एमाले र माओवादी संलग्न वाम गठबन्धनले सरकारलाई संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुख र राजधानी तोक्न भनेको थियो।

पुस २६ गते स्वास्थ्य जाँचका लागि ओली थाइल्यान्डको राजधानी बैंकक गएका थिए। उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताए। बुधबार फर्किने कार्यक्रम रहे पनि स्वास्थ्य रिपोर्ट आउन बाँकी रहेकाले एक दिन ढिला भएको उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.