|

धनकुटा : प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ।

बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम सुरु गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले स्थानीयवासी शम्शेर पौडेललाई समाएर पिटेको बताइन्छ। यो घटनापछि भीड उत्तेजित भएको थियो।

आन्दोलनकारीले बिहान ८ : ३० बजेतिर धनकुटा बजार बन्द गराउँदै हिँडेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भण्डारी गाडी लिएर आएका थिए। आक्रोशित भीडले भण्डारी चढेर आएको ना१झ १३१४ नंको गाडी तोडफोड गरिदिए। मदन चोकमा भएको उक्त घटनापछि धनकुटा बजार तनावग्रस्त बनेको थियो। स्थानीय प्रशासनले ११ : ४५ देखि अनिश्चितकालीन कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।

आन्दोलनकारीले सरकारी कार्यालयमा लगाइएको आगो निभाउन हिँडेका धनकुटा नगरपालिकाको दमकल पनि तोडफोड गरेका छन्। मोरङबाट बिरामी लिन भोजपुर हिँडेको एम्बुलेन्समाथि आक्रमण हुँदा एम्बुलेन्स चालक रञ्जित गिरी सामान्य घाइते भएको थाहाभएको छ। आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा तोडफोड गरी आगजनी गरेका छन्। आगजनीमा कार्यालयका रहेका कम्प्युटर, टेबल, कुर्सी जल्नुका साथै झ्यालका सिसा फुटेका छन्।

तोडफोड र आगजनी हुन थालेपछि सुरक्षकर्मीसँगको झडपमा परेर नेपाली काँगेसका कोषाध्यक्ष दिनेश राईसहित सातजना घाइते भएका आन्दोलनकारीले जनाएका छन्।

यसैगरी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय तोडफोड गरिनुका साथै त्यहाँ रहेको एक मोटरसाइकलसमेत आगजनी गरिएको छ। जिल्ला मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत विराटनगर धनकुटा इजलासलगायत एक दर्जन कार्यालयमा तोडफोड भएका स्थानीय प्रशासनले जनाएको छ।

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन ३३ दिनदेखि जारी आन्दोलन र हडतालका कारण यहाँको जनजीवन प्रभावित बनेको छ। बुधबार सरकारले विराटनगरलाई प्रदेश नं १ को अस्थायी राजधानी तोकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.