|

इलाम : जंगली हात्तीको समूहले जिल्लाको चुलाचुली गाउँपालिकामा १० वटा घरमा क्षति पुर्‍याएको छ। झापाको बेलडाँगी नजिकैको बनबाट आएका सातवटा जंगली हात्तीको समूहले घर भत्काउनुका साथै तीन विगाहामा लगाएको बाली पूर्ण रूपमा क्षति गरेको चुलाचुली गाउँपालिकाका प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताए। 

चुलाचुलीका ४ र ५ नम्बर वडाका पाँच परिवार विस्थापित भएका छन् भने ४० भन्दा बढी परिवार हात्ती आक्रमणको जोखिममा छन्।  

हात्तीले चुलाचुली– ५ का ललितकेन्द्र राई, मनु राई, सञ्जय बस्नेत, होमनाथ अधिकारी, नेत्रप्रसाद बाँस्कोटा, वडा नं.– ४ का पदमकुमार एवा, मानबहादुर लिम्बू, सुमन लिम्बू, चन्द्रकुमार लिम्बू र नरबहादुर भुजेलको घर भत्काएको खतिवडाले बताए। ‘ललितकेन्द्र, मनु, सञ्जय, मानबहादुर र सुमनको घर पूर्ण रूपमा ध्वस्त भएको पाइयो’, घटनास्थल निरीक्षण गरेर फर्केका खतिवडाले भने, ‘पूर्ण रूपमा घर क्षति भएका परिवार छिमेकीकहाँ शरण लिएर बसेका छन्।’ चन्द्रकुमारको घरको भान्छा भत्काएको र टेकबहादुर दाहालको घरमा पनि क्षति गरेको उनको भनाइ छ।

हात्तीले गाउँका ४० भन्दा बढी परिवार जोखिममा रहे पनि केही परिवारलाई घरमा नबस्न आग्रह गरेको उनले बताए। ‘पुस २६ गतेभन्दा पछि दिनहुँ हात्ती गाउँमा आएर क्षति गरिरहेकाले केही परिवारलाई घरमा नबस्न भनेका छौँ’, उनले भने, ‘यहाँको २० विगाहाभन्दा बढी जमिनमा घर बनाएका बासिन्दाले हात्तीका कारण गाउँ छाड्नुपर्ने अवस्था देखिन्छ।’

विस्थापितलाई स्थानीय क्लबले बिहीबार चामल र भाँडाकुँडासमेत राहतका रूपमा दिएका छन्। चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले पीडितकहाँ पुगेर उनीहरूलाई राहत वितरण गरे।

चुलाचुली क्षेत्रमा हात्तीको आक्रमणमा परेर वर्सेनि स्थानीयले ज्यान गुमाउनुका साथै लाखौँको धनमाल क्षति हुने गरेको छ।

हेर्नुहोस् फोटा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.