|

डडेल्धुरा : कानुनी रूपमा समाज छुवाछुत र भेदभावमुक्त बनिसकेको छ। समाजमा माथिल्लो जातका भन्नेहरूले तल्लो जात बनाइएकाहरूमाथि कुनै व्यावहारिक तथा सामाजिक विभेद गरेमा त्यो दण्डनीय मानिन्छ, कानुनतः। 

तर सुदूरपश्चिम अर्थात् प्रदेश नं.– ७ का धेरै जिल्लाका दलित वस्ती सामाजिक रूपमा मात्र होइन, राज्यले उपलब्ध गराउनुपर्ने सेवा र सुविधाबाट समेत ठगिएका छन्। 

डडेल्धुराको अमरगढी नगरपालिका– ११ लिटिरी गाउँका दलित समुदाय लामो समयदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। खानेपानीको अभावमा लिटिरी गाउँका ४० घर दलित परिवार एउटा कुवाको पानीमा निर्भर छन्। कुवालाई स्थानीय भाषामा नाउला भनिन्छ। 

पर्याप्त पानीको अभाव हुँदा गाउँका दलित समुदायमा शौचालयदेखि सरसफाईमा समेत समस्या छ। नेताहरू चुनावको समयमा भोट माग्न आउँछन्। चुनाव जितेपछि सबै विकासका पूर्वाधार ल्याइदिने वचन दिन्छन्, तर घरघरमा धारा बनाइदिने आश्वासन दिएर फर्किएका नेता चुनावपछि कहिल्यै दलित वस्तीमा नआउने स्थानीय वृद्धा जसुदेवी सार्कीको गुनासो छ। 

‘हामीलाई पानीको धेरै समस्या छ। एउटै नाउला छ, त्यसमा पनि पानी हुँदैन’, उनी भन्छिन्, ‘हामी बुढापाका मान्छेलाई त धेरै नै समस्या छ।’ चुनावको बेला नेताहरूले तपाईंको समस्या समाधान गर्छौं भन्ने तर जितेपछि कोही पनि नफर्केका उनी बताउँछिन्।

गाउँलेको चरम दबाब र हैरानीपछि हतारहतार गाउँमा केही धारा पनि जडान गरिएको छ। तर ती धारामा कहिल्यै पानी आएन। यो खानेपानी योजनाको विस्तृत अध्ययन नगरी योजनाको बजेट सिध्याइँदाको परिणाम भएको स्थानीयको आरोप छ। यसले केही समय उत्साहित बनेका दलित समुदायलाई निराश बनाएको छ। उनीहरू पालैपालो गाउँ नजिकैको नाउलाको पानी संकलन गरेर जीविका चलाउन बाध्य छन्। 

सोही गाउँकी नन्दादेवी सार्की भन्छिन्, ‘वैकल्पिक पानीको स्रोत पहिचान र व्यवस्थापन नहुँदा मान्छेलाई पिउने पानी छैन, सरसफाई, पशुपालन तथा तरकारी खेतीको आवश्यकता परको विषय हो’, उनले थपिन्, ‘हामी ४० परिवार छौँ, एउटै कुवा छ। पिउनको लागिसमेत पानी पुग्दैन। घर लिपपोत गरौँ भने पनि पानीकै अभाव छ।’ 

पानी नपाएर मान्छे नै मर्ने अवस्था आएपछि गाउँमा सानो ट्यांकी बनाइएको छ। त्यही ट्यांकीमा दिनभर जम्मा हुने पानी दिनमा एक पटक खोलेर परिवारको संख्याअनुसार वितरण गरिन्छ। त्यो वितरण गरेको एक गाग्री पानीले खाना बनाउनसमेत नपुग्ने दलित समुदायको गुनासो छ। थप खानेपानी चाहिएमा कुवा पुग्नुपर्छ। लुगा धुन र नुहाउनका साथै गाईवस्तुका लागि नाउलामा जम्मा हुने पानीकै भर छ।

पर्याप्त पानी नहुँदा घरका अरू धेरै काममा बाधा पुगिरहेकोे सोही समुदायकी डम्मरी पार्की बताउँछिन्। ‘सरकारले हामीलाई घरघरमा धारा बनाइदिनुपर्छ। हामीलाई खानेपानीको धेरै नै समस्या भयो’, उनले भनिन्, ‘हामी सबैलाई पानी पुग्दैन, रातीसम्म पनि कुवामा बसिराख्नुपर्छ।’

गाउँमा विवाह, व्रतबन्ध अथवा ठूला सामाजिक काम गर्नुपर्दा सबैभन्दा पहिले पानीको जोहो गर्नुपर्छ। यो अवस्था अन्त्यका लागि पटक पटक सरोकारवाला निकायसँग आग्रह गरे पनि कसैले सुनेको उनीहरूको दुखेसो छ।

हेर्नुहोस् फोटा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.