|

नेपालगंज : थारू कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि बिहीबारबाट बर्दियाको बढैया ताल गाउँपालिकामा ‘तेस्रो राष्ट्रिय थारू साहित्यिक मेला, २०७४’ सुरु भएको छ। 

थारू लेखक संघको आयोजनामा सुरु भएको साहित्यिक मेलाको उद्घाटन साहित्यकार महेश चौधरीले शुक्रबार गर्ने तय भए पनि बिहीबारदेखि नै मेला सुरु भएको थारू लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीले जानकारी दिए। 

उनले पहिलो दिन बढैया ताल परिचय र वस्तुस्थितिका बारेमा छलफल भएको बताए। ‘थारू संस्कृति र पहिचानसँग बढैया तालको सम्बन्ध तथा इतिहासका बारेमा छलफल भएको छ’, उनले भने। 

माघ ६ गतेसम्म संचालन हुने मेलामा थारू लोककथा समालोचनात्मक दृष्टिको बहसका साथै नेपालमा रंगमञ्चका चुनौती र सम्भावना, थारू भाषा सरकारी कामकाजको भाषा ः चुनौती र सम्भावना, महिला लेखक र नेतृत्व विकास चुनौती, रेडियोमा थारू भाषाको कार्यक्रमको अवस्था तथा स्थानीय विकासमा बरघर प्रणालीको भूमिकाका बारेमा छलफल हुने जंग्रार साहित्यिक बखेरी, नेपालका अध्यक्ष सोम डेमनडौराले जानकारी दिए। 

मेलामा थारू साहित्यकारका साथै अन्य साहित्यकार र साहित्यप्रेमीको समेत सहभागिता रहने बताइएको छ। आख्यान लेखन र रचनागर्भमा बहस हुने भएको छ। उक्त बहसमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सचिव सनत रेग्मी, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, प्राज्ञ डा. अमर गिरी, प्राज्ञ सभा सदस्य खोपिराम लम्साल, कथाकार महेशविक्रम शाह, उपप्राध्यापक राजेन्द्र धिताललगायतले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। 

सिर्जनशील थारूभाषी लेखकहरूको साझा संगठन थारू लेखक संघ नेपालले थारू भाषा, साहित्यको संरक्षण र प्रवद्र्धनका लागि विगत तीन वर्षदेखि साहित्यिक मेला आयोजना गर्दै आएको छ। विगत तीन वर्षदेखि भाषा, साहित्य र संस्कृतिको विकासको लागि साहित्यिक मेला तथा विभिन्न किसिमका साहित्यिक अभियान चलाउँदै आएको थारू लेखक संघका अध्यक्ष सर्वहारीले जानकारी दिए। 

उनले पहिलो साहित्यिक शृंखलामा दाङको घोराही र दोस्रो कैलालीको धनगढीमा राष्ट्रिय थारू साहित्यिक मेला आयोजना गरिसकेको बताए। 

थारू लेखक संघको आयोजना, जंग्रार साहित्यिक बखेरीको संयोजन, कर्मशील नेपाल बर्दियाको व्यवस्थापन र बर्दियाली थारू विकास मञ्चलगायत दर्जन बढी संघसंस्थाको सहकार्यमा तेस्रो शृंखला बर्दियाको बढैया तालमा आयोजना गरिएको सर्वहारीले जानकारी दिए। उनका अनुसार बढैया ताल घोषणापत्र जारी गरी मेला समापन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.