|

धनकुटा : धनकुटालाई प्रदेश नम्बर- १ को राजधानी बनाउन माग गर्दै ३४ दिनदेखि आन्दोलित धनकुटावासीको आन्दोलन बिहीबारदेखि भने हिंसात्मक बनेको छ। आन्दोलन हिंसात्मक बनेसँगै स्थानीय प्रशासनले बिहान साढे ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। 

सरकारले बुधबार प्रदेश प्रमुख र प्रदेशको राजधानी विराटनगर तोकेपछि धनकुटालाई राजधानी नतोकेको भन्दै सरकारी निर्णयविरुद्ध बुधबारदेखि अनिश्चितकालीन आमहडतालमा धनकुटावासीहरू उत्रिएका थिए। आमहडतालको क्रममा बिहीबार बिहान ९ बजे स्थानीय मदनचोकमा प्रदर्शन गरिरहेको बेला प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले प्रदर्शन गरिहेका दिनेश श्रेष्ठलाई एक्कासी समातेर कुटपिट गरेपछि दोहोरो झडप सुरु भएको थियो। 

सोही क्रममा आन्दोलनकारीले प्रहरी प्रमुख सुदीप राजभण्डारी सवार ना १ झ १३१४ नम्बरको प्रहरीको स्कोर्पियो गाडी तोडफोड गरेका थिए। 

प्रहरीको गाडी तोडफोड भएपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप र ढुंगा हानाहानसमेत भएको थियो। प्रहरीसँगको दोहोरो झडपपछि आक्रोशित बनेको भीडले जनपद प्रहरी र सशस्त्र प्रहरीको आँखा छलेर सरकारी कार्यालय तोडफोड र आगजानी गरेका थिए। स्थानीय मदनचोकमा प्रहरी प्रमुख राजभण्डारीसँग विवाद भएपछि प्रहरी र सशस्त्र प्रहरी मदनचोक केन्द्रित भएको बेला १० बजे पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको कम्प्युटर कोठाको सिसाको झ्याल फोरेर पेट्रोल छर्किएर आगो लगाइदिएका थिए।

बिहीबार सार्वजानिक विदा भएकाले कार्यालय बन्द थियो। कार्यालय बन्द भए पनि क्षेत्रीय उपप्रशासक सेवन्तराज दाहाल भने कार्यालयमै रहेको क्वार्टरमा बसिरहेका थिए। तर आन्दोलनकारीले आगो लगाएको सुरुमा दाहालले थाहा पाएका थिएनन्। कम्प्युटर कोठामा दनदनी आगो बलेपछि हुलाकमा कार्यरत एक कर्मचारीमाथि मान्छे छ भनेपछि उपप्रशासक दाहाल छतबाट बाहिर निस्किएका थिए। दाहाललाई उच्च अदालत धनकुटा इजलासमा कार्यरत हरि रिजालले कार्यालयबाट बाहिर निकालेका थिए। 

आगलागीको कारण क्षेत्रीय प्रशासन कार्यालयको कम्प्युटर कोठा पूर्ण रूपमा जलेको छ। आगलागी भएको आधा घण्टापछि मात्र सशस्त्र प्रहरी र जनपद प्रहरी घटनास्थलमा पुगेका थिए। क्षेत्रीय प्रशासन कार्यालयमा आगजानी गरेसँगै आन्दोलनकारीले मालपोत, नापी, जिल्ला प्राविधिक, उच्च अदालत विराटनगर धनकुटा इजलासको बोर्ड, सुरक्षाकर्मी बस्ने क्वार्टरको झ्यालढोका फोरेका थिए। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजानी, धनकुटा नगरपालिकालगायत दर्जनौँ कार्यालय तोडफोड गरेका थिए। 

आन्दोनकारीले भीमनारायण चोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका थिए। त्यस्तै, मोरङको केराबारीस्थित दलित हकहित समन्वय समितिको बिरामी लिन भोजपुर हिँडेको को२च ४३२ नम्बरको एम्बुलेन्सले सुरक्षाकर्मी बोकेको भन्दै आन्दोलनकारीले धनकुटा नगरपालिका कार्यालय नजिकै पूर्ण रूपमा क्षति हुने गरी तोडफोड गरेका छन्। 

त्यस्तै, क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा भएको आगजनी नियन्त्रण गर्न जाँदै गरेको धनकुटा नगरपालिकाको दमकल भीमनारायण चोक नजिकै आन्दोलनकारीले तोडफोड गरेका थिए। दमकल पूर्ण रूपमा क्षति भएको छ। त्यस्तै, प्रदर्शनकारीले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको को १ ब १०६४ नम्बरको मोटरसाइकल तोडफोड गर्नुका साथै आगजानी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.