|

दाङ : प्रदेश नम्बर– ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका छन्। 

जिल्लामा बिहीबार बिहानैदेखि सवारी साधन, बजार, शैक्षिक संस्था, कलकारखाना सबै ठप्प रहे। प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत दहन गरेका छन्। 

तुलसीपुरमा स्वतस्फुर्त रूपमा विरोध प्रदर्शनमा उत्रिएका  हजारौँ युवाहरूले ‘दाङ राजधानी तोक’, ‘दाङलाई अन्याय गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए। उता, जिल्लाका घोराही, लमही, भालुवाङलगायतका बजारहरूमा समेत विरोध प्रदर्शन जारी रहेको छ। यसै क्रममा पूर्व–पश्चिम राजमार्गसमेत ठप्प पारिएको छ। 

बन्दका कारण जिल्लाको जनजीवन प्रभावितसमेत भएको छ भने राजमार्ग ठप्प पारिँदा पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुहरू दाङको सिमानापूर्वको भालुवाङ र पश्चिमको अमिलियामा रोकिएका छन्।

यसैबीच दाङ राजधानी सरोकार समितिले भने विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ। बुधबार राती बसेको समितिको बैठकले माघ ३ गतेलाई कालो दिन घोषणा गर्दै घरघरमा कालो झण्डा गाड्न आह्वानसमेत गरेको छ। अस्पतालबाहेक सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय समितिले गरेको छ। होटललगायत बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी छ, छैन त्यसको यकिन गरेर मात्रै चल्न दिने, अटो, रिक्साहरू समेत  सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। 

त्यस्तै, दाङमा आन्दोलनलाई थप सशक्त बनाउन दलहरूले संघर्ष समिति गठन गरेका छन्। नेकपा एमालेको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्रलाई समितिमा राखिएको छ। त्यसैगरी जिल्लामा रहेका विभिन्न उद्योग वाणिज्य संघहरू अन्य साना राजनीतिक दलहरू, नागरिक समाज र विभिन्न संघसंस्थाहरू संघर्ष समितिका सदस्य रहेका छन्। 

यसका साथै, आसन्न राष्ट्रियसभाको निर्वाचनलाई प्रभावित पार्ने गरी जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नम्बर प्रदेशको राष्ट्रियसभा चुनाव हुन नदिने, कुनै पनि प्रकारको कर नतिर्ने, राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउनेलगायतका कडा आन्दोलनको स्वरूप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले जानकारी दिए। 

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.