|

काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ।

बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो।

कांग्रेसले वाम गठबन्धनबाहेकका राष्ट्रिय जनता पार्टी (राजपा)लगायत अन्य साना राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाने विषयमा पनि धारणा बनाउने भएको छ। सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ। 

राजपालगायत कम सिट भएका दलसँग पनि सहकार्य गरेर अधिकतम सिट हासिल गर्नेगरी रणनीति बनाउने सम्बन्धमा केन्द्रीय समितिमा छलफल भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरू उपस्थित थिए।

बैठकमा करिब तीन दर्जन सदस्यले आआफ्नो धारणा राखेका थिए। बोल्ने अधिकांश सदस्यले प्रदेशसभा र प्रतिनिधसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको परिणामबारे नेतृत्वको आलोचना गरेका थिए। उनीहरुले पार्टी सभापतिको कमजोरीले पार्टीलाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका थिए।

राष्ट्रियसभाको निर्वाचन रणनीति बनाउने सन्दर्भमा बोलाइएको बैठकमा नेताहरुले नेतृत्वको कडा आलोचना गर्नमै अधिकाँश समय खर्चेका थिए।

केन्द्रीय सदस्य घिमिरेका अनुसार आज बोल्ने अधिकांश सदस्यले नेतृत्वप्रति आलोचना गरेका छन्।

यसअघि बैठकका विषयमा जानकारी दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको बताए।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो। उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचना हुनाका साथै केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ।

गत मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुलुकको ठूलो दल कांग्रेस पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ। केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.