|

काठमाडौँ : सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटाउने भएको छ। केन्द्रमा मुख्य सचिवजस्तै प्रदेशमा उनीहररूले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन्। तर, उनीहरुको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ। प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवको नेतृत्वमा २५ कर्मचारी खटाइने भएको छ।

हाल ५ विकास क्षेत्रमा रहेका क्षेत्रीय प्रशासन कार्यालयबाटै कर्मचारीको अस्थायी संरचना तय गरिएको छ। क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा राजेश्वरमान सिंह, हेटौंडामा रेश्मीराज पाण्डे, पोखरामा लक्ष्मण अर्याल, सुर्खेतमा सुरेश प्रधान र दिपायलमा लक्ष्मीराज पौडेल प्रमुखका रूपमा कार्यरत छन्। उनीहररू नै सम्बन्धित प्रदेशका प्रमुख सचिवका रुपमा खटिनेछन्। क्षेत्रीय प्रशासन कार्यालय नरहेका बुटवल र जनकपुरमा भने बरिष्ठ सहसचिव २ जना कर्मचारी बढुवा गरी प्रमुख बनाउने गृहकार्य भइरहेको छ।

प्रदेश प्रमुखको कार्यालयमा भने सहसचिवले कर्मचारीको नेतृत्व गर्नेछन्। उनीहरूको पदलाई प्रदेश सचिव भनिनेछ। ‘प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय सञ्चालन सहजै हुने गरी हामीले गृहकार्य गरेका छौं,’ प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले भने।

सरकारले ७ प्रदेशमा बुधवार नियुक्त गरेका प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्भवतः शुक्रबार शपथ लिनेछन्। त्यसपछि अर्को साताबाट उनीहरू सम्बन्धित प्रदेशमा गई जिम्मेवारी सम्हाल्नेछन्। क्षेत्रीय प्रशासकले मुख्यमन्त्री चयन भएपछि मात्र आफ्नो कार्यालय हेर्ने भएकाले तत्काललाई प्रदेश प्रमुख कार्यालयको कर्मचारी व्यवस्थापन हेर्न भनिएको छ। प्रदेश प्रमुखको कार्यालयमा रहने २५ कर्मचारीमध्ये प्रमुखले सचिवालयमा राख्ने १२ जनाको निजी सचिवालयका कर्मचारीसमेत पर्छन्।

‘क्षेत्रीय प्रशासन कार्यालय मातहतकै कर्मचारी सम्बन्धित प्रदेशमा खटिनेछन्। क्षेत्रीय प्रशासन कार्यालय नभएका प्रदेशमा पनि सहसचिवसहित कर्मचारी खाका तयार छ। सम्भवतः भोलि नै त्यसबारे निर्णय हुनेछ’, सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवराम न्यौपानेले भने। प्रदेश प्रमुखको कार्यालयमा एक सहसचिव, ४ उपसचिव, ५ शाखा अधिकृतसहितका १३ पद प्रस्तावित छन्। त्यस्तै निजी सचिवालयतर्फ प्रमुख स्वकीय सचिव, सह स्वकीय सचिव, उपस्वकीय सचिवसहित १२ जना छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.