|

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ। 

आयोगले नेकपा एमालेलाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौडा, संघीय समाजवादी फोरम नेपाललाई हातले समातेको मसाल र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ। 

नेपाल संघीय समाजवादी पार्टीलाई बस, नेपाल मजदूर किसान पार्टीलाई मादल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई दापसहितको खुकुरी, बहुजन शक्ति पार्टीलाई जग, नेपाल परिवार दललाई साँचो, राष्ट्रिय जनमोर्चालाई गिलास र नेपाल नौलो जनवादी पार्टीलाई चुच्चोले चिट्ठी बोकेको परेवा चिन्ह दिइएको छ। 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई गोलाकारभित्र हलो, विवेकशील साझा पार्टीलाई तराजु, नयाँ शक्ति पार्टी नेपाललाई देब्रे आँखा, नेपाल दलित पार्टीलाई  इनार, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, बहुजन समाज पार्टी नेपाललाई जिराफ, गान्धीवादी पार्टी नेपाललाई भेंडा, नेपाली जनता दललाई गोरुगाडाको चक्का पाङग्रो र राष्ट्रिय मुक्ति आन्दोलन नेपाललाई षटकोण प्रदान गरेको निर्वाचन आयोगको सूचनामा जनाइएको छ। 

राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ। उक्त निर्वाचनमा २ हजार ५६ जना मतदाताले भाग लिनेछन्। राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट आठ जना सदस्यको छनोट हुनेछ। राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ। 

कूल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा तीनजना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ। राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.