|

भैरहवा : पूर्वको झापाबाट सुरु भएको नेपथ्य यात्राले पश्चिमको भैरहवामा गएर विश्राम लिएको छ । बिहिबार भैरहवावासीले लोक भाकामा आधारित रक संगितमा रमाउने अवसर पाए। स्थापनाको पच्चीस वर्ष मनाउने क्रममा देश दैडाहमा निस्केको नेपथ्य टोलीले बिहिबार पक्लिहवा हाइस्कुलको प्रांगणमा सांगितिक कार्यक्रम प्रस्तुत गर्‍यो।

तामाङ समुदाय सोनाम ल्होसार मनाइरहँदा भैरहवाको मैदानमा हिउँको वर्षासहित तामाङबहुल लाङटाङ भेगबाटै संकलित गीत ‘भेँडाको ऊनजस्तो’ घन्किरहेको थियो। सिंगो पश्चिमी पहाडी भेगको नाका भएकै कारण भैरहवासँग नेपथ्य जोडिएको छ। गोर्खाभर्तीदेखि शिक्षा, स्वास्थ्य, तीर्थ हुँदै अनेकन अवसरको द्वार रहँदै आएको भैरहवा पश्चिमेली लोकभाकासँग पनि जोडिएको छ। नेपथ्यकै कतिपय सदस्यको विगत यो सीमावर्ती सहरमा बितेको थियो। यि सबै कारणले भैरहवा कन्सर्ट एक किसिमको आत्मीय पनि बन्नपुग्यो।

नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन, ‘पोखरा र पोखरेलीहरु जसरी भैरहवासँग जोडिएका छन्, नेपथ्य पनि उसैगरि जोडिएको छ, मैले बाल्यकालका महत्वपूर्ण क्षण बिताएको यो सहर अहिले पनि ब्याण्डका गितारवादक निरज गुरुङको थलो हो।’

संघर्षकालीन क्षणमासमेत यस सहरमा कन्सर्ट गर्दाका धेरै अनुभवहरु बोकेको नेपथ्यले यसपाली भने पहिलोपटक खुला आकासमुनी आफूलाई प्रस्तुत गर्‍यो।

निर्धारित समय अनुसारनै बेलुकीको ठीक छ बजे कन्सर्ट सुरुभएको थियो। अन्यत्रझैँ यहाँ पनि ‘सा कर्णाली’ र ‘सम्झिराख’ जस्ता म्युजिक भिडियो देखाएर कन्सर्ट सुरु गरियो। त्यस लगत्तै नेपथ्य टोली मञ्चमा उक्लियो, अनी सांगितिक माहोल सुरु भयो।

ब्याण्डले ‘कुरुप अनुहार हो’ गीतबाट प्रस्तुती सुरु गर्‍यो। साढे तीन दशकअघि विश्वविद्यालय पढ्न कीर्तिपुर पुगेका दुई पोखरेली तन्नेरीहरु सरुभक्तको रचना र विक्रम गुरुङको संगीतमा यो गीत तयार भएको थियो। पछिल्लो समय नेपथ्यले गाउन थालेपछि चर्चित बनेको यो गीत ब्याण्डको दसौं एल्बममा समावेश छ।

स्टेजबाट नेपथ्यको चर्चित गीत ‘भेँडाको ऊनजस्तो’ घन्किरहँदा मैदानमा तन्नेरीहरु उफ्रिरहेका देखिन्थे। गीतमा भने झैं शीतलहरका कारण पक्लिहवा स्कुलको मैदान पनि हुस्सु र कुहिरोले ढपक्कै ढाकेको थियो। ‘अरुबेला हामीले स्टेजमा यस्तो प्रभाव ल्याउन कृतिम धुवाँ प्रयोग गर्नुपर्‍थ्यो,’ ब्याण्डका ब्यवस्थापक किरणकृष्ण श्रेष्ठ भन्छन, ‘भैरहवामा भने प्रकृतिले नै त्यस्तो वातावरण बनाइदियो।’

मैदानलाई हुस्सु र कुहिरोले छेकिरहेको वातावरणमा चर्चित गीत ‘छेक्यो छेक्यो’ घन्कियो, तन्नेरीहरु रमाई¬–रमाई उफ्रन थाले। ‘आँगनैभरि’ गाउने बेलामा भने गायक अमृत गुरुङ र दर्शक दुबै ब्याण्ड स्थापनाका क्षण सम्झेर भावुक भएका थिए।

ब्याण्डको पहिलो गीतका रुपमा औपचारिक घोषणा गरिएको यस गीतलाई प्रस्तुत गर्ने क्रममा पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो।

‘यो गीत मैले तयारपार्ने बेलामा तपाईंहरु धेरैजना त जन्मनु पनि भएको थिएन,’ दर्शक घेरामा रहेका अधिकांश तन्नेरीहरुसँग ठट्टा गर्दै गायक अमृतले भने, ‘यतिबेला गाइरहँदा मलाई तपाईंकै उमेरको त्यो क्षणमा पुगेको महशुस भइरहेको छ।’ त्यसपछि अमृतले एकपछि अर्कोगर्दै झण्डै बराबर मात्रामा नयाँ र पुराना एल्बमका गीतहरु सुनाए।

कार्यक्रमले उत्तरार्धमा पुग्दा महत्वपूर्ण मोड लियो । अघिल्लो दिन मात्रै भैरहवाको डण्डापारि क्षेत्रमा भेटिएका स्थानीय मधेसी समुदायका तन्नेरीबारे अमृतले चर्चा गर्न थाले। ती तन्नेरीले आफूलाई मनपर्ने गीतहरु दिएकोमा अमृतप्रति आभार प्रकट गरेका रहेछन्। अमृतले तिनै तन्नेरीलाई सम्झँदै मुलुकभरका समस्त फरक–फरक पहिचान भएका तन्नेरीहरुमा समर्पण गर्दै त्यसपछि गाएको गीत थियो, ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली।’

कार्यक्रममा उल्लेख्य संख्यामा मधेसी समुदायका तन्नेरीहरुको पनि उपस्थिती देखिन्थ्यो। तिनैमध्येका एक थिए भोजपुरीभाषी पवन गुप्ता साह। साथीहरुसँग आएका उनी कहिले गीतको तालमा झुम्ने त कहिले मोबाइलमा दृश्य रेकर्ड गर्न व्यस्त थिए। भैरहवाकै जोगीबुटीस्थित स्काइ इन्टरनेशनलमा एमबिए अध्ययनरत साहलाई नेपथ्य मन पर्नुको कारण सोध्दा यसका गीतले नेपाली स्वाद समेटेको जवाफ दिए।

‘एक त संगीतसँग भाषाको खासै सम्बन्ध हुँदैन,’ नेपथ्यबाहेक अरु पनि केही नेपाली गायक तथा ब्याण्डका प्रशंसक रहेका पवनले भने, ‘घरभित्र भोजपुरी भाषा प्रयोग गरेपनि म नेपाली हुँ र सानैदेखि नेपथ्यका गीत सुनेरै हुर्केको हुँ।’

पवन पहिलेदेखि नेपथ्यको ‘फ्यान’ भएता पनि २७ वर्षे सिकन्दर अली भने पहिलो अनुभव लिँदै थिए। ‘सबैले जताततै नेपथ्य–नेपथ्य भनेको सुनेपछि के रहेछ भनेर हेर्न म पनि आएको हुँ,’ ओमसथिया गाउँपालिका–४ का सिकन्दरले भने, ‘बच्चा, बुढोलाई मनपर्नेदेखि सामाजिक गीतहरुसमेत गाउनु हुँदोरहेछ ।’

यता मञ्चमा भने गायक अमृतले ‘रेशम’ र ‘तालको पानी’ सुनाएर दर्शकलाई छमछमी नचाइरहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.